ललितपुर ।  प्रधानमन्त्री सुशीला कार्कीले सरकार अहिले सुशासन र निर्वाचन दुई मुख्य एजेन्डामा केन्द्रित रहेर काम गरिरहेको बताएका छन् ।

आज ललितपुर महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी युवाहरूको आन्दोलनपछि मुलुकमा नयाँ परिस्थिति बनेको अवस्थामा आगामी फागुन २१ गते निर्धारित समयभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ अहोरात्र खटेर तयारीका काम अगाडि बढिरहेका बताए ।

advertisement

‘निर्वाचनमार्फत व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न हामी आतुर छौँ । त्यसैले उक्त निर्वाचनलाई कम खर्चिलो, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आ–आफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई आग्रह गर्दछु । मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रासामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन हो’, उनले भने ।

प्रधानमन्त्री कार्कीले समाजमा कुनै पनि खालका अराजकताले ठाउँ पाउनुहुँदैन भन्दै शान्ति खल्बल्याउने, कानुन हातमा लिनेजस्ता अराजक र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सुरक्षा प्रशासन सक्षम र सक्रिय रहेको बताए । ‘खराब तत्वको प्रतिरोध गर्न समुदायको पनि महत्त्वपूर्ण भूमिका रहन्छ । आउनुहोस्, समाजमा शान्ति कायम गरी सुशासनयुक्त राष्ट्र निर्माणमा हातेमालो गरौँ’, उनले भने ।

समारोहमा ललितपुर महानगरप्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेनजी समूहले सहयोग गर्नुपर्नेमा जोड दिए । महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विभिन्न समयमा योगदान पुर्‍याउने विभिन्न तहमा रहेका व्यक्तित्वको योगदानबाट ललितपुर महानगरपालिका आजको अवस्थासम्म आइपुग्न सफल भएको बताए ।

कार्यक्रममा ललितपुर महानगरलाई सबैभन्दा बढी कर तिर्ने संस्था रातो बङ्गाला स्कुल, निराराज्य लक्ष्मी राणासमेतलाई सम्मान गरिएको छ ।

 

प्रकाशित मिति: २ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com