काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेलले पार्टीभित्र देखिएको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक र सकारात्मक प्रक्रियाका रूपमा बुझ्नुपर्ने बताएका छन्।
महाधिवेशनस्थलमा प्रतिनिधिहरूसँग भेटघाट तथा मत माग्ने क्रममा रहेका पोखरेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक विधिमार्फत नेतृत्व चयन हुनु पार्टीको परिपक्वता भएको उल्लेख गरे। उनले महाधिवेशनमा खुला र निष्पक्ष प्रतिस्पर्धा देखिनु उत्साहजनक भएको बताए।
नेतृत्व चयनका लागि लोकतान्त्रिक अभ्यासलाई साथीहरूले खुला ढंगले अपनाउनुभएको छ, यो पार्टीका लागि राम्रो संकेत हो, पोखरेलले भने।
उनले प्रतिस्पर्धालाई तिक्तता वा द्वन्द्वको रूपमा व्याख्या गर्नु गलत हुने स्पष्ट पारे। विगतमा पार्टी गम्भीर विभाजनको जोखिममा रहेकाले फरक परिस्थिति थियो भन्दै उनले अहिलेको अवस्था भने स्थिर र सुरक्षित रहेको बताए।
त्यसबेला पार्टीलाई विभाजनबाट जोगाउन विशेष सोच र कदम आवश्यक थियो। अहिले त्यो अवस्था छैन, उनले भने, यसलाई नकारात्मक रूपमा लिनु हुँदैन।
पोखरेलले पार्टीभित्र विचार, संगठन र राजनीतिक लक्ष्यमा एकता रहेको जिकिर गर्दै अब कार्यशैली, संगठनात्मक व्यवस्थापन र विचारलाई अझ व्यवस्थित बनाउने आवश्यकतामा बहस केन्द्रित भएको बताए।
उनका अनुसार महाधिवेशनमा देखिएको प्रतिस्पर्धा पार्टीलाई सुदृढ बनाउने प्रयासको हिस्सा हो र यसलाई अन्यथा रूपमा नलिन सबैलाई आग्रह गरे।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार












प्रतिक्रिया