काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्रसंघको शान्ति सहयोग अभियानमा सबैभन्दा धेरै सेना र प्रहरी योगदान गर्ने मुलुकका रूपमा नेपाल स्थापित भएको बताएकी छन् ।
बुधबार ललितपुरको पुल्चोकस्थित युएन हाउसमा आयोजित नेपाल–संयुक्त राष्ट्रसंघ साझेदारीको ७० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपालले विश्व शान्तिमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन् ।
उनले भनिन्, ‘आज नेपाल संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सेना र प्रहरी पठाउने विश्वकै अग्रणी मुलुक बनेको छ । शान्ति स्थापना र द्वन्द्वग्रस्त क्षेत्रहरूमा नेपाली सुरक्षाकर्मीहरूले उच्च व्यावसायिकता र समर्पणका साथ सेवा दिएका छन् । आवश्यक परेमा संयुक्त राष्ट्रसंघलाई थप सहयोग गर्न नेपाल सधैं तयार छ ।’
प्रधानमन्त्री कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचन निर्धारित समयमै सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरिन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै उनले निर्वाचन र सत्ता हस्तान्तरण दुवै प्रक्रिया शान्तिपूर्ण र लोकतान्त्रिक ढंगले सम्पन्न हुने आश्वासन दिइन् ।
‘आगामी निर्वाचनमार्फत सहज र लोकतान्त्रिक सत्ता परिवर्तन हुने विषयमा विश्व समुदायको चासो छ,’ प्रधानमन्त्रीले भनिन्, ‘हामी तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नेछौं । तयारी अन्तिम चरणमा पुगेको छ र सुरक्षा व्यवस्था पनि उल्लेखनीय रूपमा सुदृढ गरिएको छ ।’
प्रधानमन्त्री कार्कीले सन् २०२६ सम्ममा नेपाल अति कम विकसित मुलुकको सूचीबाट उक्लिने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिन् । यसलाई नेपालका लागि ऐतिहासिक उपलब्धि भन्दै उनले यस सफलतालाई दिगो बनाउन थप लगानी, प्रविधि हस्तान्तरण र संयुक्त राष्ट्रसंघसँगको निरन्तर सहकार्य आवश्यक रहेको औँल्याइन् ।
नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता पञ्चशील र राष्ट्रसंघको बडापत्रलाई मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गर्दै अघि बढ्दै आएको प्रधानमन्त्रीले स्मरण गरिन् । ७० वर्षको यात्रामा संयुक्त राष्ट्रसंघले नेपालको शान्ति, मानव अधिकार र विकासका क्षेत्रमा पुर्याएको योगदानको पनि उनले उच्च प्रशंसा गरिन् ।
प्रधानमन्त्री कार्कीले दोस्रो विश्वयुद्धपछि भावी पुस्तालाई युद्धको विनाशबाट जोगाउने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसंघको भूमिका बदलिँदो विश्व परिस्थितिमा अझ महत्वपूर्ण बन्दै गएको उल्लेख गरिन् । ‘जलवायु परिवर्तन, विश्वव्यापी तनाव र नयाँ किसिमका चुनौतीहरूको सामना गर्न संयुक्त राष्ट्रसंघीय प्रणालीलाई अझ सुदृढ बनाउन आवश्यक छ,’ उनले भनिन् ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया