काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदान बिहीबार बिहानसम्म चल्ने देखिएको छ।
बुधबारदेखि सुरू भएको मतदानमा प्रतिघन्टा करिब सय जना प्रतिनिधिले भोट हालिरहेका छन्। कुल २२६२ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नुपर्ने भएकाले सम्पूर्ण मतदान सम्पन्न हुन झन्डै २२ घन्टा लाग्ने अनुमान गरिएको छ। मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो।
मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालका अनुसार सबै प्रतिनिधिको मतदान सकिन बुधबार बिहान ७ बजेसम्म समय लाग्नेछ।
उनका अनुसार मतदान ढिलाइ हुनुका मुख्य तीन कारण छन्।
पहिलो, अन्तिम समयमा एमालेले विधान संशोधन गर्दै केन्द्रीय समिति र पदाधिकारी संख्या बढाएकाले मतदान प्रक्रिया जटिल बनेको हो। भदौमा सम्पन्न विधान अधिवेशनबाट पदाधिकारी संख्या १५ मा झारिएको भए पनि अहिले १९ पुर्याइएको छ। केन्द्रीय समिति पनि २५१ बाट बढाएर ३०१ बनाइएको छ। विधान संशोधनपछि भोटिङ मेसिनको सेटिङ परिवर्तन गर्नुपर्दा सबै पदका उम्मेदवारको नाम र फोटो पुनः इन्ट्री गर्न समय लागेको रिमालले बताए। अहिले एक जना प्रतिनिधिले भोट हाल्न औसतमा ३५ देखि ४० मिनेट लागिरहेको छ।
दोस्रो, अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र ईश्वर पोखरेलका छुट्टाछुट्टै प्यानलका सूची बोकेर प्रतिनिधिहरू मतदानमा गइरहेका छन्। मतदानअघि प्यानल सूचीको क्रमसंख्यासँग भोट मिलान गर्नुपर्ने र कतिपय अवस्थामा फरक–फरक प्यानलका उम्मेदवारलाई मत दिने भएकाले दुवै सूची हेर्नुपर्दा समय बढी लागेको एमाले निर्वाचन आयोगका एक प्रतिनिधिले बताए।
तेस्रो, यसपटक सबै पदमा अनिवार्य मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ। विगतमा केही पद खाली छाडेर पनि मतदान गर्न सकिने भए पनि अहिले तोकिएको संख्यामा मत नदिएसम्म अर्को समूहमा जान नमिल्ने व्यवस्था छ। यसले पनि मतदान प्रक्रियालाई ढिलो बनाएको रिमालको भनाइ छ।
यसका अतिरिक्त, यसपटक सर्वसम्मत चयन हुने संख्या निकै कम भएकाले पनि मतदानमा समय लागेको छ। महाधिवेशनअघि कम्तीमा ३० प्रतिशत पद सर्वसम्मत हुने अपेक्षा गरिएको भए पनि अहिले कतिपय स्थानमा ५ जना चयन गर्नुपर्ने ठाउँमा ६ जना उम्मेदवार छन्।
एमालेमा मतदान गर्नुअघि प्रत्येक महाधिवेशन प्रतिनिधिलाई निर्वाचन आयोगका प्रतिनिधिले कुपन प्रदान गर्छन्। सो कुपनका आधारमा प्राविधिकले भोटिङ मेसिन सक्रिय पार्छन्। त्यसपछि प्रतिनिधिले झन्डै ४० मिनेटसम्म उभिएर मतदान गर्नुपर्ने व्यवस्था छ।
मतदान सम्पन्न भएपछि मतगणनामा करिब ३ देखि ४ घन्टा लाग्ने अनुमान गरिएको छ।
प्रकाशित मिति: २ पुस २०८२, बुधबार













प्रतिक्रिया