काठमाडौं । सन् २०२६ को विश्वकप जित्नेले ५ करोड डलर पाउने भएको छ । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अबको विश्वकपका लागि बुधबार पुरस्कार राशि घोषणा गरेको हो । विश्वकपको कुल पुरस्कार राशि भने ६५ करोड ५० लाख डलर रहेको छ ।
सन् २०२२ को कतार विश्वकपभन्दा पुरस्कार राशिमा लगभग ५० प्रतिशत वृद्धि गरिएको छ । पछिल्लो विश्वकपमा ४४ करोड डलर पुरस्कार राशिका रूपमा वितरण गरिएको थियो । अबको विश्वकप अमेरिका, मेक्सिको र क्यानडामा जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुँदै छ ।
यसपल्टको सहभागी टिमको संख्या बढेर ४८ पुगेको छ । पछिल्लो विश्वकपमा ३२ टिमकै मात्र सहभागिता रहेको थियो । अर्जेन्टिनाले पछिल्लो विश्वकपमा विजेताका रूपमा ४ करोड २० लाख डलर पाएको थियो ।
तीन वर्षअगाडि लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले उपाधि हात पारेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टीमा हराएको थियो । उप–विजेताका रूपमा सीमित भएपछि फ्रान्सले ३ करोड डलरमा चित्त बुझाएको थियो । यसपल्ट भने फाइनलमा पराजित हुने टिमले पनि ३ करोड ३० लाख डलर पाउने छ । तेस्रो हुनेले २ करोड ९० लाख डलर हात पार्नेछ ।
सेमिफाइनल पुग्ने चौथो टिमले २ करोड ७० लाख डलर प्राप्त गर्नेछ । अबको विश्वकपमा लिग चरणबाटै बाहिरिनेले पनि ९० लाख डलर पाउने छ । यस्तै प्रत्येक सहभागी हुने टिमले तयारीका रूपमा १५ लाख डलर पाउनेछ ।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार












प्रतिक्रिया