काठमाडौं । नेकपा (एमाले)को नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा ३६ जना प्रतिनिधि अनुपस्थित रहे।

निवर्तमान केन्द्रीय सदस्य बसन्त नेम्बाङ स्वास्थ्य समस्याका कारण मतदानमा सहभागी हुन सकेनन्। अन्य प्रतिनिधिहरू विभिन्न कारणले मतदानमा उपस्थित भएनन्।

advertisement

त्यसैगरी तत्कालीन एकीकृत समाजवादीबाट एमाले फर्केका मुकुन्द न्यौपाने पनि मतदानमा उपस्थित भएनन्। एमाले फर्किएपछि उनलाई जिम्मेवारी दिन २०८० जेठमा विधान संशोधन गरिएको थियो। उनी स्थायी कमिटी सदस्य पनि हुन्।

बुधबारदेखि सुरु भएको मतदानमा न्यौपाने किन उपस्थित भएनन् भन्नेबारे सोध्दा उनले आफू हाल हेटौंडामा रहेको बताए।

न्यौपानेले गोदावरी विधान महाधिवेशनबाट भएको निर्णय उल्ट्याएर केपी ओलीले आफू अनुकूल बनाएकोमा असन्तुष्टि व्यक्त गरे। उनले भने, “विधान महाधिवेशनबाट भएका निर्णयलाई उल्ट्याउन नहुने भनी हामीले भन्यौं, तर त्यो कार्यान्वयन भएन। ओलीजी तीन महिनाअघि केही भन्छन्, तीन महिनापछि अर्कै कुरा भन्छन्। ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था भनिएको थियो, तर दुबै खारेज भयो। यसरी बोलीको ठेगान नभएको व्यक्तिसँग यो देश चल्ने कल्पना गर्न सकिन्छ?”

त्यसकारण आफू मतदानमा सहभागी नभएको न्यौपानेले बताए। उनले थपे, “केपी ओलीको पार्टीमा म बस्दिनँ। नैतिकता सबैभन्दा पहिले हो। पार्टी नेतृत्वको नीति ठिक छ कि छैन, उसले बोलेको कुरा कायम राख्न सक्छ कि सक्दैन, यी कुरा हेरिन्छ। यहाँ त बोलेको मात्रै होइन, लिखित निर्णयसमेत लागू भएन। जबजको लोकतान्त्रिकरण भनेर पुस्तक लेखेर जनता माझ बाँडिन्छ, तर जनतासँग गरेका वचनहरू पालना हुँदैन। ७० को उमेर हद र दुई कार्यकाल कायम रहिनुपर्छ भनेको थियो, तर संख्या घटाउने कुरा उल्ट्याइयो। के आफूलाई जे चाहिन्छ त्यहि राख्ने?”

उनले आलोचना गर्दै भने, “३४ वर्षमा ३२ वटा सरकार परिवर्तन भएका छन्। हाम्रो संविधान अनुसार ३२ वटा सरकार परिवर्तन हुन १६० वर्ष लाग्छ। नेतृत्वबाट भएका हरेक गलत कदममा प्रश्न उठाए पनि त्यसको सुनुवाइ भएन।”

न्यौपानेले पछिल्लो आम निर्वाचनदेखि नै आफ्नो र ओलीबीचको सम्बन्ध चिसिएको बताए। “कांग्रेससँग गठबन्धन नगर्ने सुझाव दिएको थिएँ। १८ महिना भयो, हाम्रो सम्बन्ध बिग्रिएको छ,” उनले बताए।

पार्टीमा सक्रिय रह्ने कि नरहने भन्नेबारे भने उनले स्पष्ट जवाफ दिएनन ।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com