काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनपछिको तीन महिनाको अवधिमा सरकारले अर्थतन्त्रलाई पुनरुत्थान र पुनःनिर्माणको दिशामा अघि बढाउँदै नागरिकमा आशा जगाउन सफल भएको बताएका छन्।

बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी प्रकाशन दि राइजिङ नेपाल को ६१औँ वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्री खनालले भदौ २३ र २४ का घटनापछि मुलुक गम्भीर अनिश्चितताको अवस्थामा पुगेको अनुमान गरिए पनि सरकारले ९० दिनभित्रै ती आशंकालाई चिर्दै तीव्र गतिमा सुधारको बाटो समातेको बताए।

advertisement

उनका अनुसार ती घटनापछि एक हप्तासम्म अर्थतन्त्र ध्वस्त हुने, नागरिकको जनजीवन अस्तव्यस्त हुने र मुलुक अनिश्चितताको भुमरीमा फस्ने आकलन गरिएको थियो। तर सरकारले छोटो समयमै अर्थतन्त्रलाई स्थायित्वतर्फ उन्मुख गराउँदै पुनरुत्थानको मार्गमा ल्याएको दाबी गरे।

अर्थमन्त्री खनालले पछिल्लो समय कच्चा पदार्थ आयातमा देखिएको वृद्धि उत्पादन गतिविधि बढिरहेको संकेत भएको बताए। आर्थिक गतिविधि चलायमान भए–नभएको मापन मूल्यवृद्धिकर, अन्तःशुल्क, भन्सार तथा समग्र राजश्व संकलनबाट स्पष्ट देखिने उनको भनाइ थियो।

उनले गत तीन महिनामा भदौ महिनामा केही गिरावट आए पनि त्यसपछिका असोज, कार्तिक, मंसिर र पुस महिनामा कर राजश्व करिब १० प्रतिशतको हाराहारीमा वृद्धि भएको जानकारी दिए। उपभोग्य तथा मध्यवर्ती वस्तुको आयात बढेकाले उपभोग र उत्पादन दुवैमा सकारात्मक प्रभाव परेको उनको निष्कर्ष थियो।

अर्थमन्त्री खनालले सरकारको नीतिगत प्रयासका कारण अर्थतन्त्र क्रमशः सुधारतर्फ उन्मुख भएको र आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com