काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देशका अधिकांश राजनीतिक दलहरू आगामी निर्वाचनको तयारीमा सक्रिय रूपमा जुटिसकेको बताएका छन्।
बिहीबार काठमाडौंमा गोरखापत्र संस्थानको अंग्रेजी दैनिक दि राइजिङ नेपालको ६१औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री खरेलले राजनीतिक गतिविधि हेर्दा मुलुक स्पष्ट रूपमा निर्वाचनतर्फ अघि बढिसकेको देखिने बताए।
उनले राजनीतिक दलहरूले उम्मेदवार सिफारिस प्रक्रिया सुरु गरिसकेको र निर्वाचन लक्षित कार्यक्रमहरू गाउँदेखि शहरसम्म सञ्चालन भइरहेको उल्लेख गरे। ‘कतिपय दल महाधिवेशनमा छन्, कतिपय गर्ने तयारीमा छन्। गाउँदेखि शहरसम्म अभियान चलिरहेका छन्। उम्मेदवारका नाम सिफारिस भइरहेका छन्, समानुपातिकतर्फ पनि नामहरू प्रस्ताव हुन थालेका छन्,’ उनले भने, ‘यसले राजनीतिक दलहरू चुनावमा होमिइसकेको स्पष्ट संकेत गर्छ।’
सरकार निर्वाचनलाई सफल बनाउन आवश्यक सबै प्रकारका स्रोत, साधन र जनशक्ति तयारी अवस्थामा राखेर अघि बढिरहेको उनले बताए। उनका अनुसार जनता स्वयं पनि मतदानका लागि उत्साहित छन्।
‘अब निर्वाचन उत्सव मात्रै होइन, महोत्सवको रूप लिँदैछ। मुलुक चुनावी प्रक्रियामा दृढताका साथ अघि बढिसकेको छ,’ मन्त्री खरेलले भने।
फागुन २१ गते हुने निर्वाचनका लागि आठ लाखभन्दा बढी नयाँ मतदाता थपिएकाले निर्वाचनप्रति जनचासो र उत्साह अझ बढेको उनको दाबी छ। निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको र अधिकांश राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिसकेको उनले बताए।
मन्त्री खरेलले सरकारअन्तर्गतका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्ने वातावरण उपलब्ध गराइएको र भ्रष्टाचार नियन्त्रणसम्बन्धी मुद्दाहरू तीव्र रूपमा अघि बढिरहेको पनि स्पष्ट पारे। ‘सुशासनका कामको सुरुवात भइसकेको छ। निर्वाचन नजिकिँदै गर्दा सरकार र निर्वाचन आयोग दुवै सक्रिय छन्,’ उनले भने।
वर्तमान सरकार ‘जेन–जी आन्दोलन’बाट प्राप्त म्याण्डेटअनुसार नै अघि बढिरहेको उल्लेख गर्दै उनले भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखिएको बताए। ‘जेन–जी आन्दोलनपछि सरकारले तीनवटा मुख्य म्याण्डेट पाएको छ। त्यसअनुसार तीन महिनाभित्र ३० भन्दा बढी भ्रष्टाचारसम्बन्धी मुद्दा अदालतमा दर्ता भइसकेका छन्,’ उनले भने, ‘विगतमा दबाब र प्रभावका कारण अघि बढ्न नसकेका मुद्दाहरू अहिले स्वतन्त्र रूपमा अगाडि बढ्ने वातावरण सरकारले बनाएको हो।’
मन्त्री खरेलले सरकार निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सफल बनाउन प्रतिबद्ध रहेको दोहोर्याउँदै लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउने दिशामा सरकार दृढताका साथ अघि बढिरहेको बताए।
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया