काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले विगतमा निभाएको राष्ट्रिय जिम्मेवारी स्मरण गर्दै अहिले पनि कांग्रेसले अभिभावकीय भूमिका खेल्नुपर्ने बताएका छन्।
पोखरामा आयोजित कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले पहिले आफ्ना भित्री विवाद र पीडा भुल्दै देशलाई हिंसाको आहालबाट बाहिर निकाल्ने काम गरेको स्मरण गर्दै भने, ‘सबै कुरा विर्सेर देशलाई हिंसाबाट बाहिर निकाल्यौं। चुनाव हारियो वा जितियो, त्यसको हिसाब किताब नगरी हामीले हाम्रो जिम्मेवारी निर्वाह गरेका हौं।’
थापाले फागुन २१ गते हुने निर्वाचन वर्तमान व्यवस्थाका लागि निर्णायक रहेको उल्लेख गर्दै यदि समयमै निर्वाचन नभए अर्को बाटोले देशलाई दुर्घटनातर्फ लैजान सक्ने चेतावनी दिएका छन्।
उनले भारतको चुनावी प्रक्रियालाई उदाहरण दिँदै भने, ‘बंगलादेश, श्रीलंका, माल्दिभ्स र पाकिस्तानभन्दा भारत सुचारु रुपमा अघि बढिरहेको छ। भारतमा निर्वाचन चक्र रोकिएको छैन, हार्नेले जित्नेलाई स्वीकार गर्छन् र सत्ता हस्तान्तरण सहज ढंगले हुन्छ। तर नेपालमा यस चक्रमा ब्रेक आएको छ।’
महामन्त्री थापाले २०६२/०६३ सालपछि निर्वाचन चक्रमा ब्रेक नआएको उल्लेख गर्दै तोकिएको समयमा चुनाव सम्पन्न गराउने मुख्य जिम्मेवारी सरकारको भएको बताए। उनीहरूले दलहरूसँग संवाद गरी कुनै संशय वा शंका भए हटाउने कार्य गर्नुपर्ने समेत बताए।
थापाले थपे, ‘सरकारले तटस्थ भूमिका निभाउनुपर्छ र दलहरूले पनि सहयोग गर्नुपर्छ।’
प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार













प्रतिक्रिया