काठमाडाैं । आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका–१ निवासी १९ वर्षीय ओमबाबुप्रसाद यादव रहेका छन् । नियमित सवारीसाधन जाँचका क्रममा प्रहरीले उनलाई पेस्तोलसहित नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार यादव बाराको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको बसमा सवार थिए । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन पुलजीप नजिक रहेको अस्थायी प्रहरी पोष्टबाट खटिएको टोलीले बस रोकी जाँच गर्दा उनी शंकास्पद अवस्थामा फेला परेका थिए ।
पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । प्रहरीका अनुसार पृथ्वीराजमार्ग खण्डमा सवारीसाधन जाँचलाई पछिल्लो समय अझ कडाइका साथ अघि बढाइएको छ ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया