काठमाडौँ। नेपाली कांग्रेसका नेता सुनिल शर्माले पार्टीको १५ औँ महाधिवेशनमा शेखर कोइराला समूहबाट सहमहामन्त्री पदका लागि उम्मेदवारी दिने बताएका छन्। उनले सो पद नदिइएमा छुट्टै प्यानल बनाएर महामन्त्री वा उपसभापति पदमा उम्मेदवारी दिने स्पष्ट पारेका छन्।
शर्माले आफू हालसम्म शेखर कोइराला समूहकै नेता रहेको उल्लेख गर्दै सहमहामन्त्री पदका लागि औपचारिक आग्रह गर्ने बताए। “म अहिलेसम्म शेखर कोइराला समूहकै मानिस हुँ, यसमा लजाउने कुरा छैन। सहमहामन्त्री दिनुस् भनेर आग्रह गर्छु,” उनले भने, “यदि त्यो सम्भव भएन भने नयाँ सोचसहित नयाँ प्यानल बनाएर महामन्त्री वा उपसभापतिमा उम्मेदवारी दिन्छु। यसपटक सभापतिमा भने उम्मेदवारी दिने छैन।”
उनले पार्टीमा लामो समयदेखि योगदान दिएका नेतालाई सभापति पदमा समर्थन गर्ने पनि बताए। “चन्द्र भण्डारीजस्ता व्यक्तिलाई सभापतिमा अगाडि सारेर भए पनि हामी नयाँ प्यानल घोषणा गरेर अगाडि बढ्छौँ,” शर्माले भने।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा आयोजना हुने छ।
प्रकाशित मिति: ४ पुस २०८२, शुक्रबार













प्रतिक्रिया