काठमाडौं । साफ क्लब महिला च्याम्पियनसिप अब निर्णायक चरणमा पुगेको छ। उपाधिका लागि शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा घरेलु शक्तिशाली टोली एपीएफ फुटबल क्लब र भारतीय दिग्गज इस्ट बंगाल आमनेसामने हुँदैछन्।

साँझ ५ बजे सुरु हुने यो बहुप्रतीक्षित फाइनल खेल प्रतियोगिताकै दुई उत्कृष्ट टोलीबीचको रणनीतिक भिडन्त हुने अपेक्षा गरिएको छ। लिग चरणमा अपराजित रहँदै तीन जित र एक बराबरीसहित १० अंक जोडेर शीर्ष स्थानमा रहेको इस्ट बंगाल र दुई जित तथा दुई बराबरीबाट ८ अंकसहित दोस्रो स्थानमा रहेको एपीएफबीचको प्रतिस्पर्धा अत्यन्त कडा हुने निश्चित छ।

advertisement

इस्ट बंगालका मुख्य प्रशिक्षक एन्टोनी एन्ड्रुजको ध्यान टिमको आक्रामक खेललाई प्रभावकारी ‘फिनिसिङ’मा रूपान्तरण गर्नेमा केन्द्रित छ। केही दिनअघि लिग चरणको अन्तिम खेलमा यी दुई टोलीबीचको भेट बराबरीमा टुंगिएको थियो, जहाँ इस्ट बंगालले थुप्रै अवसर सिर्जना गरे पनि गोल गर्न सकेको थिएन।

शुक्रबारको प्रि–म्याच कन्फरेन्समा प्रशिक्षक एन्ड्रुजले फिनिसिङसम्बन्धी कमजोरी सुधार भइसकेको दाबी गरे। “हामी एपीएफलाई कमजोर टोलीका रूपमा हेर्दैनौँ। लिग चरणको नतिजाले अंकतालिकामा खास असर नपारे पनि फाइनलमा फरक खेल देखिनेछ,” उनले भने, “हामी आफ्ना कमजोरीप्रति सचेत छौँ र टिमको मनोबल उच्च छ। फाइनलमा सिर्जना भएका अवसरको सही सदुपयोग हुनेछ।”

इस्ट बंगालकी कप्तान फजिला इक्वापुतले घरेलु समर्थकको दबाबले टिमलाई असर नगर्ने बताइन्। “पाहुना टोलीका रूपमा केही दबाब हुन्छ, तर हाम्रो ध्यान समर्थकको संख्यामा होइन, आफ्नो खेलमा छ,” उनले भनिन्, “एपीएफ बलियो प्रतिद्वन्द्वी हो। हामी खेलभरि शतप्रतिशत दिनेछौँ।”

एपीएफको लक्ष्य: रंगशालाको इतिहास बदल्ने

घरेलु टोली एपीएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले फाइनलका लागि टोली शारीरिक र मानसिक रूपमा पूर्ण तयार रहेको बताए। उनले लिग चरणमा देखिएको अग्रपंक्तिको कमजोरी सुधार्न दुई दिनको विश्रामलाई प्रभावकारी रूपमा प्रयोग गरिएको जानकारी दिए।

“लिग चरणमा अग्रपंक्तिमा केही समस्या देखिएको थियो। त्यसलाई सुधार्न विशेष अभ्यास गरेका छौँ,” पाण्डेले भने, “इस्ट बंगालसँग पहिले नै खेलिसकेकाले उनीहरूको खेलशैलीबारे हामी जानकार छौँ र त्यसअनुसार तयारी गरेका छौँ।”

एपीएफकी कप्तान अनिता बस्नेतका लागि यो खेल क्लबको जित–हार मात्र नभई राष्ट्रिय प्रतिष्ठासँग पनि जोडिएको छ। दशरथ रंगशालामा नेपाली टोलीले फाइनलमा भोग्दै आएको हारको शृंखला तोड्ने उनको अठोट छ।

“हामी क्लबसँगै राष्ट्रको प्रतिनिधित्व गरिरहेका छौँ। दशरथ रंगशालामा नेपालले फाइनलमा धेरै पटक हार बेहोरेको इतिहास छ, त्यसैले यो उपाधि जित्न हामी अत्यन्त उत्साहित छौँ,” अनिताले भनिन्। उनले यो खेल खेलाडीहरूको व्यक्तिगत भविष्यका लागि पनि महत्वपूर्ण रहेको उल्लेख गरिन्। “यहाँ धेरैको नजर खेलाडीहरूमाथि छ। राम्रो प्रदर्शन गर्न सके विदेशी क्लबबाट अवसर खुल्न सक्छ।”

दुवै टोलीले विगतका कमजोरी सच्याउँदै क्षेत्रीय सर्वोच्चता कायम गर्ने लक्ष्य राखेकाले शनिबारको फाइनल खेल दर्शकका लागि अविस्मरणीय र रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com