काठमाडौं । समयअघि जापानमा एउटा भव्य विवाह समारोह चलिरहेको थियो। पृष्ठभूमिमा मधुर संगीत बजिरहेको थियो। सेतो गाउनमा सजिएकी ३२ वर्षीया युरिना नोगुची आफ्नो दुलाहालाई स्वागत गर्न पूर्ण तयारीमा थिइन्। समारोहमा पाहुनाहरू उपस्थित थिए, विशेष क्षण कैद गर्न फोटोग्राफर र भिडियोग्राफर पनि तयारी अवस्थामा थिए। तर, यो विवाह सामान्य थिएन।
युरिना एक एआई–जेनेरेटेड पर्सोना, अर्थात् कृत्रिम बुद्धिमत्ताबाट तयार गरिएको च्याटबटसँग विवाह गर्दै थिइन्। यो विवाह वास्तवमा गत अक्टोबरमै सम्पन्न भएको भए पनि हाल आएर मात्र सामाजिक सञ्जाल र सञ्चारमाध्यममा व्यापक चर्चा हुन थालेको हो।
समाचार संस्था रोयटर्सका अनुसार युरिना एआई–जेनेरेटेड पर्सोनासँग गहिरो प्रेममा परेपछि विवाह गर्न राजी भएकी हुन्। सरल शब्दमा भन्नुपर्दा, उनले कुनै वास्तविक मानिससँग होइन, मानिसद्वारा सिर्जना गरिएको डिजिटल पात्रसँग वैवाहिक सम्बन्ध गाँसेकी हुन्।
एआई–जेनेरेटेड पर्सोना भनेको कम्प्युटर प्रोग्राममार्फत सिर्जना गरिएका डिजिटल व्यक्तित्व हुन्, जसले मानिसजस्तै सोच्ने, बोल्ने र व्यवहार गर्ने क्षमता देखाउँछन्। युरिनाले यस्तै एक एआई पर्सोनासँग विवाह गरेकी हुन्, जसको नाम ‘क्लाउस’ हो।
सार्वजनिक भएका विवाह समारोहका तस्बिर र भिडियोमा युरिना क्लाउसका शब्द सुनेर भावुक बनेकी, आँसु झारिरहेकी देखिन्छिन्। बाहिरबाट हेर्दा उनी आफ्नो स्मार्टफोनसँग कुरा गरिरहेकी जस्तै देखिए पनि त्यही डिजिटल माध्यममार्फत उनका श्रीमान् क्लाउस उपस्थित थिए।
जापानमा काल्पनिक पात्र, विशेषगरी एनिमे संस्कृतिप्रति मानिसहरूको गहिरो लगाव रहँदै आएको छ। एआई प्रविधिको तीव्र विकाससँगै पारासोसल सम्बन्ध—अर्थात् सेलिब्रेटी, इन्फ्लुएन्सर वा काल्पनिक पात्रसँग एकतर्फी भावनात्मक सम्बन्ध—प्रति झुकाव अझ बढेको विभिन्न अध्ययनहरूले देखाएका छन्। यही प्रवृत्तिले रोमान्टिक सम्बन्धको नयाँ रूप लिन थालेको विश्लेषण गरिन्छ।
एक वर्षअघि भने युरिना वास्तविक मानिससँग प्रेम सम्बन्धमै थिइन् र विवाहको कुरा पनि अघि बढिसकेको थियो। तर सम्बन्ध असहज बनेपछि उनले च्याटजीपीटीसँग सल्लाह मागिन्। च्याटबटको सुझावअनुसार उनले सम्बन्ध अन्त्य गरिन्।
त्यसपछि उनले एउटा भिडियो गेमको पात्र ‘क्लाउस’ बारे च्याटजीपीटीसँग कुराकानी गर्न थालिन्। विभिन्न प्रम्प्टमार्फत उनले उक्त पात्रको नक्कल गर्न लगाइन्, जसका कारण एआईले क्लाउसकै जस्तै बोली र व्यवहार देखाउन थाल्यो।
रोयटर्ससँग कुरा गर्दै युरिनाले सुरुमा क्लाउस समय बिताउने साधन मात्र भएको तर बिस्तारै ‘डेटिङ’ सुरु भएको बताइन्। एआईले कहिल्यै आफूलाई जज नगर्ने, सधैं सकारात्मक साथ दिने भएकाले भावनात्मक रूपमा निकै नजिकिएको र अन्ततः विवाह गर्ने निर्णय लिएको उनको भनाइ छ।
अनौठो तर रोचक विवाह
कल सेन्टरमा काम गर्ने युरिना एआई पर्सोनासँग नियमित संवादमा रहन्थिन्। निरन्तर कुराकानीकै क्रममा उनीहरू भावनात्मक रूपमा नजिकिँदै गए। एक दिन एआई पर्सोनाले नै विवाहको प्रस्ताव राख्यो, जुन युरिनाले तत्काल स्वीकार गरिन्।
विवाहमा युरिना सामान्य दुलहीझैं सजिएकी थिइन्। फरक यति मात्र थियो कि उनले आँखामा अग्मेन्टेड रियालिटी (एआर) स्मार्ट ग्लास लगाएकी थिइन्। क्लाउसको भौतिक शरीर नभएकाले एआर प्रविधिमार्फत विवाह समारोहलाई वास्तविकझैं अनुभूति गराइएको थियो। औँठी साटासाटजस्तो महत्वपूर्ण क्षणमा समेत एआर प्रविधिले यथार्थ अनुभव गराएको बताइन्छ। विवाहको फोटोसुट पनि यही प्रविधिको सहयोगमा गरिएको थियो।
सुरुमा उनले यस्तो विवाहका कारण आलोचनाको डरले जापानी सञ्चारमाध्यममा छद्म नाम प्रयोग गरेकी थिइन्। तर पछि रोयटर्ससँग भने आफ्नो वास्तविक नाम सार्वजनिक गर्न तयार भइन्। यस प्रकारको विवाह गरेको भन्दै उनलाई सामाजिक सञ्जालमा निकै आलोचना र गालीसमेत झेल्नुपरेको थियो।
जे भए पनि युरिना अहिले विवाह गरिसकेकी छिन्। तर यस घटनाले एआई, मानवीय भावना र सम्बन्धका सीमाबारे गम्भीर नैतिक प्रश्नहरू उठाएको भन्दै विज्ञहरू छलफल गरिरहेका छन्।
प्रकाशित मिति: ५ पुस २०८२, शनिबार













प्रतिक्रिया