काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश निर्माणको लागि आफू जुनसुकै त्याग गर्न तयार रहेको दाबी गरेका छन्। शनिबार चितवनको चौबिसकोटीमा आयोजित सभामा सम्बोधन गर्दै उनले देश बनाउने उद्देश्यका लागि व्यक्तिगत हितभन्दा माथि उठ्न तयार रहेको बताएका हुन्।

हिजो मात्र कारागारबाट रिहा भएका लामिछाने भैरहवाबाट सिधै चितवन पुगेका थिए। उनले भने, ‘हामी मिलेर जहाँसम्म मिल्न सक्छौं, सँगै अघि बढ्ने सवाल हो। मैले कारागारबाट पनि भनेको थिएँ, म जे त्याग गर्न तयार छु। मेरो पार्टी बनाउनुस्, पार्टीको निर्णय मान्छु। मलाई केही चाहिएको छैन। कसैलाई चुनाव चिन्ह, झण्डा, पार्टी अफिस, सभापति वा उपसभापति चाहियो भने दिइन्छ। देश बन्नुपर्छ भन्ने कुरा व्यक्तिको ठूलो कुरा होइन।’

advertisement

लामिछानेले मिल्नुपर्ने पक्षहरूसँग संवादमा रहेको जानकारी दिँदै भने, ‘अन्तिममा जो जो मिल्नुपर्ने छन्, हामी मिलेर अघि बढ्छौं। हाम्रो सबै साथीहरू संवादमै छन्। तर यो कुरा झटपट टुंगोमा पुग्दैन।’

उनले आफू केवल चुनावका लागि राजनीतिमा नभएर, एउटा पुस्ताका लागि राजनीतिमा आएको पनि स्पष्ट पारे। ‘म एउटा चुनावका लागि राजनीतिमा आएको छैन, म एउटा पुस्ताका लागि आएको हुँ,’ उनले भने।

साथै उनले सरकारले निर्वाचन प्रक्रिया सुनिश्चित गर्न आवश्यक काम गर्नुपर्नेमा जोड दिएका छन्। ‘२४ गते जनआन्दोलन भएको हो। हामी यहीँबाट स्पष्ट सन्देश जान्छौं। निर्वाचन मार्फत देश अगाडि बढ्नुपर्छ। जेनजीको रगतबाट चुनिएको सरकारले अब जेनजीको सपना पूरा गर्ने आँट गर्नुपर्छ। रास्वपा सरकारसँग मिलेर जेनजीको माग पूरा गराउने र निर्वाचन सम्पन्न गराउने कुरामा खडा हुनेछ,’ लामिछानेले भने।

उनले जेनजीहरूसँग आफू सधै साथमा रहेको भन्दै चिन्ता नगर्न पनि आग्रह गरे। ‘देशका संरचना जले हामीलाई दुख लाग्छ। तर वर्षौंदेखि खरानी भएका हाम्रा सपना कसले बनाउँछ? हामी बनाउँछौं। हामी सबै जेनजीको साथ बोकेर अघि बढ्छौं। जेनजी भाइहरू छन्, रवि दाइ पनि साथमा छन्, किन चिन्ता गर्ने?’

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com