काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा स्वच्छ प्रतिस्पर्धाको वातावरण नबनेको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरेका छन्। ईश्वर पोखरेल समूहद्वारा आयोजित समीक्षा भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रतिनिधि छनोटदेखि बन्दसत्र र निर्वाचनसम्मका सम्पूर्ण प्रक्रियामा पार्टी संरचनाको चरम दुरुपयोग भएको आरोप लगाए।

भट्टराईले संगठन विभागलगायतका संयन्त्रहरू प्रयोग गरेर आन्तरिक लोकतन्त्रलाई अस्वस्थ बनाइएको दाबी गर्दै यसले पार्टीको लोकतान्त्रिक अभ्यासमै गम्भीर प्रश्न उठाएको बताए। लोकतान्त्रिक प्रक्रियामा सहभागी भएपछि मतपरिणामलाई स्वीकार गर्नुपर्ने मान्यता आफूहरूको भए पनि पार्टीभित्रको वैचारिक संघर्ष नरोकिने उनले स्पष्ट पारे।

advertisement

‘हाम्रो बाटो न विभाजन हो, न आत्मसमर्पण। हाम्रो संघर्ष पार्टीभित्रै रहेर निरन्तर चलिरहन्छ,’ भट्टराईले भने। उनले अध्यक्ष केपी शर्मा ओलीका सकारात्मक प्रस्तावहरूलाई समर्थन गरिने तर पार्टीभित्र काखा–पाखा, गुटबन्दी वा मानमर्दन हुने गरी पक्षपातपूर्ण व्यवहार भए त्यसको कडा प्रतिवाद गरिने चेतावनी दिए।

उनले आगामी निर्वाचन तथा बाह्य राजनीतिक प्रतिस्पर्धामा पार्टीलाई जिताउन आफूहरू एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाए। पार्टीभित्र कुनै पनि ‘अराजनीतिक बार्गेनिङ’ नगर्ने तर सामूहिक निर्णय, नेतृत्व हस्तान्तरण र आन्तरिक लोकतान्त्रिकरणको एजेन्डाबाट पछि नहट्ने उनको भनाइ छ।

महाधिवेशनमा अपेक्षित सफलता हासिल हुन नसक्नुका कारणबारे पुस २६ देखि २८ गतेसम्म बस्ने केन्द्रीय कमिटी बैठकमा विस्तृत समीक्षा गरिने जानकारी भट्टराईले दिए। निर्वाचनमा पराजित नेताहरूलाई विचलित नहुन आग्रह गर्दै उनले पार्टी निर्माणमा सक्रिय भूमिका खेल्न आह्वान गरे। साथै, अध्यक्ष ओलीको कार्यशैलीमा अझै अपेक्षित परिवर्तन नआएको गुनासो पनि उनले व्यक्त गरे।

प्रकाशित मिति: ५ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com