काठमाडौं । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत सर्वसाधारणले लामो समयदेखि सास्ती भोग्दै आएको दाउन्ने खण्डको ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार साँझ स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री घिसिङले दाउन्ने खण्डमा भइरहेको निर्माण कार्यको प्रगतिप्रति असन्तुष्टि जनाउँदै कामको गति तत्काल दोब्बर बनाउन निर्देशन दिएका छन्। उनले सडक विस्तारको काम आगामी जनवरी महिनाभित्र अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित ठेकेदार कम्पनी तथा आयोजना जिम्मेवार अधिकारीहरूलाई कडा निर्देशन दिए।
निर्माण कार्य सुस्त गतिमा अघि बढ्दा दैनिक हजारौँ यात्रु तथा सवारी चालकहरू घण्टौँसम्म जाममा पर्नु परेको र धुलो–हिलोका कारण यात्रा जोखिमपूर्ण बनेको उल्लेख गर्दै मन्त्री घिसिङले सर्वसाधारणको समस्यालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह गरे।
समयसीमाभित्र काम सम्पन्न गर्न आवश्यक परे रात्रीकालीन काम, जनशक्ति र उपकरण थप्न निर्देशन दिँदै उनले निर्माण कार्यमा कुनै पनि बहाना स्वीकार्य नहुने स्पष्ट पारे। साथै सडक निर्माणका क्रममा सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन सम्बन्धित निकायलाई उनले सचेत गराए।
निरीक्षणमा मन्त्रालय, आयोजना कार्यालय तथा स्थानीय तहका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया