पाकिस्तान । तोसाखाना–२ भ्रष्टाचार प्रकरणमा आफू र पत्नी बुशरा बिबीलाई १७–१७ वर्षको जेल सजाय सुनाइएपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले फैसलाविरुद्ध देशव्यापी विरोध आन्दोलनको तयारी गर्न आफ्ना समर्थकहरूलाई आह्वान गरेका छन्। उनले उक्त निर्णयलाई इस्लामाबाद उच्च अदालतमा चुनौती दिने स्पष्ट संकेत पनि दिएका छन्।

हाल कारागारमा रहेका र सामाजिक सञ्जालमा प्रत्यक्ष पहुँच नभएका खानले आफ्नो कानुनी टोलीमार्फत सन्देश पठाउँदै खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीलाई संयुक्त सडक आन्दोलनको तयारी थाल्न निर्देशन दिएका हुन्। ‘पूरै राष्ट्रले आफ्ना संवैधानिक अधिकारका लागि उठ्नुपर्छ,’ खानको सन्देशमा उल्लेख गरिएको छ।

advertisement

अदालतको फैसलाप्रति प्रतिक्रिया दिँदै इमरान खानले यसले आफूलाई आश्चर्यचकित नगरेको बताएका छन्। उनले पछिल्ला तीन वर्षयता आइरहेका निर्णयहरूलाई ‘आधारहीन र पूर्वाग्रही’ को निरन्तरता भनेका छन्। उनका अनुसार पर्याप्त प्रमाण र कानुनी प्रक्रिया पूरा नगरी हतारमा फैसला सुनाइएको हो, साथै अदालतले उनको कानुनी टोलीका तर्कहरूलाई बेवास्ता गरेको छ। उनले इन्साफ वकिल फोरमसहित सम्पूर्ण कानुनी समुदायलाई संविधानको सर्वोच्चता र विधिको शासनको रक्षा गर्न अग्रसर हुन आग्रह गरेका छन्। न्याय बिना आर्थिक प्रगति सम्भव नहुने उनको धारणा छ।

यसैबीच, पाकिस्तान तहरिक–ए–इन्साफ (पिटिआई) ले विज्ञप्ति जारी गर्दै फैसलालाई ‘स्पष्ट रूपमा असंवैधानिक, गैरकानुनी र राजनीतिक प्रतिशोधबाट प्रेरित’ भनेको छ। पार्टी नेतृत्वले यो सजाय इमरान खानको कारावास अवधि लम्ब्याउने र उनको राजनीतिक प्रभाव कमजोर पार्ने उद्देश्यले गरिएको आरोप लगाएको छ। अधीनस्थ न्यायपालिकामार्फत राजनीतिक उत्पीडन भइरहेको दाबी पनि पिटिआईको छ।

पिटिआई महासचिव सलमान अकरम राजाले वरिष्ठ नेता असद कैसरसँग संयुक्त पत्रकार सम्मेलन गर्दै अदालत कक्षमै इमरान खानले प्रमुख वकिल ब्यारिस्टर सलमान सफदरमार्फत राष्ट्रका नाममा सन्देश दिएको जानकारी गराए। खानको भनाइ उद्धृत गर्दै उनले भने, ‘म दृढ छु र कसैसँग माफी माग्दिनँ।’ उनका अनुसार यो मुद्दा केवल प्रतिज्ञापत्रमा आधारित छ र ठोस प्रमाण तथा साक्षीको गम्भीर अभाव छ।

तोसाखाना–२ मुद्दामा सजाय सुनाइएपछि पाकिस्तानभर व्यापक बहस सुरु भएको छ। न्यायिक प्रक्रियाको निष्पक्षता र विश्वसनीयतामाथि प्रश्न उठ्न थालेका छन्। एएनआईसँग कुरा गर्दै लाहोर र पेशावरका बासिन्दा तथा सञ्चारकर्मीहरूले फैसलामा राजनीतिक उद्देश्य हाबी भएको र प्रमाण कमजोर रहेको टिप्पणी गरेका छन्।

लाहोर निवासी हमिद रियाज डोगरले पछिल्ला फैसलाहरूले न्यायपालिकाप्रति जनविश्वास घट्दै गएको बताए। अर्का स्थानीय बासिन्दा जाकी उल्ला मुजाहिदले लोकतान्त्रिक संस्था र न्याय प्रणालीप्रतिको विश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै संविधान र कानुनी सीमाभित्र रहेर मात्रै राज्य सञ्चालन हुनुपर्ने धारणा व्यक्त गरे।

उक्त मुद्दा साउदी अरबका क्राउन प्रिन्सबाट प्राप्त करिब सात करोड १० लाख पाकिस्तानी रुपैयाँभन्दा बढी मूल्यको बुल्गारी गहना सेटको अवमूल्यनसँग सम्बन्धित रहेको छ। अदालतले इमरान खान र बुशरा बिबीलाई आपराधिक विश्वासघात तथा भ्रष्टाचारसम्बन्धी धाराअन्तर्गत दोषी ठहर गरेको हो।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com