जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। मंगलबार सम्पन्न प्रदेशसभा बैठकमा भएको मत विभाजनमार्फत उनी सभामुखमा निर्वाचित भएका हुन्।
सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवले ७२ मत प्राप्त गर्दा विपक्षमा २४ मत परेको थियो। बैठकमा कुल ९६ जना प्रदेशसभा सदस्य उपस्थित थिए।
सभामुखको आसनमा बसेकी उपसभामुख बबिता राउत इशरले मत परिणाम सार्वजनिक गर्दै रामअशिष यादव सभामुखमा निर्वाचित भएको औपचारिक घोषणा गरिन्। यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव नेपाली काँग्रेसका सांसद विरेन्द्र प्रसाद सिंहले प्रस्तुत गरेका थिए।
प्रस्ताव बहुमतले पारित भएसँगै यादव सभामुखमा निर्वाचित भएका हुन्। यसअघि सभामुखका अर्का प्रत्याशी नेकपा एमालेका तर्फबाट उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव भने सदनमा अगाडि बढाइएन।
नवनिर्वाचित सभामुख रामअशिष यादव धनुषा निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन्। उनी यसअघि जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारीसमेत सम्हाल्दै आएका थिए।
यसअघि नेकपा एमालेका रामचन्द्र मण्डल सभामुख पदमा रहँदै आएका थिए। तर, पदअनुकूल आचरण नगरेको आरोप लगाउँदै सातदलीय गठबन्धनले गत मंसिर ३ गते दुई तिहाई बहुमतका आधारमा उनलाई पदमुक्त गरेपछि सभामुख पद रिक्त रहँदै आएको थियो।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया