काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संसद् पुनर्स्थापनाका नाममा चलखेल भइरहेको आफूले जानकारी पाएको बताउँदै त्यसप्रति कडा आपत्ति जनाएका छन्। उनले यस्तो प्रयासलाई षड्यन्त्रको रूपमा व्याख्या गर्दै यसतर्फ ध्यान नदिन आग्रह गरेका छन्।
आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थली पुगेका सभापति लामिछानेले संसद् पुनर्स्थापनाको चर्चा उठिरहेकोप्रति प्रश्न उठाए। उनले भने, ‘कुन संसद् पुनर्स्थापनाको कुरा भइरहेको छ? कुन संसद् फेरि सक्रिय पार्न खोजिँदैछ? जनताका मुद्दा उठाउँदा माइक बन्द गरिने संसद् पुनः ब्युँझाउने प्रयास किन भइरहेको छ?’
यसक्रममा उनले षड्यन्त्रपूर्ण गतिविधिप्रति सतर्क रहन आग्रह गर्दै भने, ‘षड्यन्त्रको आँखा बन्द गर्नुहोला । धेरै आँखा नचम्काउनुहोला ।’
लामिछानेले देशको शासकीय संरचना केवल पुनर्निर्माण गरेर मात्रै नपुग्ने स्पष्ट पारे। उनले सिंहदरबारजस्ता संरचना पुनःनिर्माणसँगै त्यसको चरित्र र कार्यशैली परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए।
‘भत्किएका संरचना फेरि बनाउनु मात्रै पर्याप्त हुँदैन, तिनलाई रूपान्तरण गर्नुपर्छ। सिंहदरबार बनाउने मात्र होइन, बदल्नुपर्छ,’ उनले भने, ‘जेनजी आन्दोलनले दिएको योगदानलाई सार्थक बनाउन अब हामी सबैले जिम्मेवारीका साथ अघि बढ्नुपर्छ।’
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया