काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले निर्वाचनमा सरकारसँग सहकार्य गर्न पार्टी पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। आइतबार जेलबाट रिहाइ भएपछि पहिलोपटक पार्टी केन्द्रीय कार्यालय वनस्थली पुगेका लामिछानेले जेनजी आन्दोलनका माग पूरा गर्ने सर्तमा रास्वपाले सरकारलाई साथ दिने स्पष्ट पारे।
लामिछानेले निर्वाचनमा जानुको विकल्प नभएको पुनः दोहोर्याउँदै भने, ‘निर्वाचनमा जानुको विकल्प छैन। साथै, जेनजीले उठाएका माग पूरा गर्नु पनि विकल्प होइन। जेनजीका माग पूरा गर्ने, सुशासन कायम गर्ने र निर्वाचन सम्पन्न गराउने काममा सरकारले एक्लै हुनु पर्दैन। रास्वपा सधैं उभिएको छ।’
उनले थपे, ‘तर सरकारले बुझ्नुपर्छ कि हाम्रो समर्थन निशर्त होइन। हामीले स्वार्थका लागि कदम चालिरहेका छैनौं। कलिला भाइ–बहिनीहरूले ज्यान गुमाएका उद्देश्यलाई भुल्न सकिँदैन। त्यसैसँग निर्वाचन सम्पन्न गर्नुपर्छ।’
लामिछानेले चुनाव प्रक्रिया विथोल्न केही भागेका शक्तिहरू सक्रिय रहेको आरोप समेत लगाए। उनले भने, ‘भागेका केही शक्तिहरू निर्वाचन बिगार्न लागेका छन्। साना–साना घटनामा पनि उनीहरू पछि पर्दैनन्। आफ्नै मान्छे खटाएर घटनाक्रम सिर्जना गर्ने र निर्वाचन वातावरण बिगार्ने काममा लागेका छन्। सरकारले सम्हाल्न सकेन भनेर बहानामा मुन्टो निकाल्ने आवश्यकता छैन। चुनावको वातावरण बिगार्न पाउनु हुँदैन। हाम्रो पार्टीले जिते झैँ, आम निर्वाचनमा पनि जित निश्चित छ।’
उक्त टिप्पणीमा लामिछानेले प्रत्यक्ष रूपमा एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गरेका थिए।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार













प्रतिक्रिया