काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो शान्ति र राजनीतिक स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा सम्पन्न हुनुपर्ने स्पष्ट पारेकी छन्। सिंहदरबारमा इलाम क्षेत्र नं. २ का निवर्तमान सांसद सुहाङ नेम्वाङ नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले वर्तमान सरकारको मुख्य दायित्व नै निर्वाचन सम्पन्न गराउनु रहेको बताइन्।

प्रधानमन्त्री कार्कीले असामान्य परिस्थितिमा शान्ति स्थापना र कानुनको शासन बहालीका लागि सरकार गठन भएको उल्लेख गर्दै अबको प्रमुख लक्ष्य चुनाव गराउनु भएको बताइन्। “शान्ति स्थापना र कानुनको शासनमा उल्लेखनीय सफलता मिलेको छ,” उनले भनिन्, “अब निर्वाचन सम्पन्न भए मात्र देशमा दिगो शान्ति र स्थायित्व सुनिश्चित हुन्छ।”

advertisement

भेटका क्रममा नेम्वाङले प्रधानमन्त्रीलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न शुभकामना दिँदै आफ्नो तर्फबाट सहयोग रहने बताए। प्रधानमन्त्रीले आगामी चुनावमा उम्मेदवारीको तयारीबारे चासो राख्दा नेम्वाङले आफू तयारीमै रहेको जानकारी गराएका थिए। त्यस अवसरमा प्रधानमन्त्री कार्कीले राजनीतिमा युवाको नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै देशको बागडोर अब नयाँ पुस्ताले सम्हाल्नुपर्ने धारणा राखिन्।

भेटमा नेम्वाङले इलाममा बाढी र पहिरोका कारण क्षतिग्रस्त राजमार्ग तथा पुलको पुनःनिर्माणमा सरकारको ध्यानाकर्षण गराएका थिए। जवाफमा प्रधानमन्त्री कार्कीले भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले स्थलगत निरीक्षण गरिसकेको र सरकारले पुनःनिर्माणलाई गम्भीरतापूर्वक अघि बढाइरहेको जानकारी दिइन्।

प्रकाशित मिति: ६ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com