काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टका सहोदर भाइ गोकर्ण भट्ट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। यसअघि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य रहेका भट्टले गत कात्तिक १४ गते पार्टी परित्यागको घोषणा गरेका थिए।
एमाले परित्यागपछि राजनीतिक रूपमा निष्क्रिय रहेका भट्टले आज औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। उनी यसअघि माओवादी केन्द्र हुँदै एमालेमा सक्रिय रहेका थिए। भट्टले २०७४ र २०७९ सालमा कैलालीको गोदावरी नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवारी दिएका भए पनि दुवै पटक पराजय भोगेका थिए।
रास्वपामा प्रवेश गर्ने निर्णयबारे भट्टले यसअघि नै सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए। पार्टी प्रवेश कार्यक्रमका लागि नेता, कार्यकर्ता र शुभेच्छुकलाई निमन्त्रणा गर्दै उनले लामो राजनीतिक यात्रापछि जनतासँग नजिक रहेर नयाँ नेपाल निर्माणको अभियानमा सहभागी हुन रास्वपामा आबद्ध हुन लागेको उल्लेख गरेका थिए।
भट्टको रास्वपामा प्रवेशसँगै सुदूरपश्चिमको राजनीतिमा नयाँ तरंग सिर्जना भएको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: ६ पुस २०८२, आइतबार












प्रतिक्रिया