काठमाडौं । जेन–जी अगुवा रक्षा बमले नेपालको राजनीतिक यात्रा संसद पुनर्स्थापनाको चरणभन्दा धेरै अघि बढिसकेको बताएकी छन्। जेन–जीकै केही अगुवाहरूले संसद पुनर्स्थापनाको अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाउँदै उनले अब नयाँ जनादेश लिएर मात्रै संसदमा जानु उपयुक्त हुने धारणा राखेकी छन्।

सामाजिक सञ्जालमार्फत बमले जेन–जी मित्र मिराज ढुंगाना र जेन–जीका दाइ सुधन गुरुङलाई सम्बोधन गर्दै भनिन्, “तपाईंहरू दुवैले गरिरहनुभएको संसद पुनर्स्थापनाको कुरा अब देशको राजनीतिक कोर्सभन्दा पछाडि परिसकेको छ। पश्चगामी बाटोतर्फ फर्किनुभन्दा नयाँ जनादेश लिएर नयाँ संसदमार्फत देशलाई निकास दिने र हाम्रा मुद्दाहरू सम्बोधन गर्ने बाटो खोजिनुपर्छ। अहिले सबैभन्दा आवश्यक कुरा ‘Political Process’ नै हो।”

advertisement

उनले जेन–जीहरू कसैको स्वार्थपूर्तिका लागि राजनीतिक वा रणनीतिक गोटी बन्न नहुनेमा जोड दिँदै थप सचेत हुन आग्रह गरिन्। साथै, देशमा शान्ति अपरिहार्य रहेको पनि उल्लेख गरिन्।

बमले सुधन गुरुङले दिएको अभिव्यक्तिलाई पितृसत्तात्मक सोचबाट प्रेरित भएको भन्दै कडा आपत्ति जनाएकी छन्। उनले लेखेकी छन्, “जेन–जीका दाइ, मेरा यी चुरा लगाएका दुवै हात गलत कुकृत्यका विरुद्ध निरन्तर उठिरहेका छन्। चुरा लगाएका हातलाई कमजोर ठान्ने पितृसत्तावादी भूल नगर्नुहोस्। स्त्रीद्वेषी टिप्पणी दिन छोड्नुस् र सम्झनुस्—परिवर्तनका हरेक आन्दोलनमा महिलाहरूले पनि रगत–पसिना बगाएका छन्। भदौ २८, २०८२ मा ढोगेको खुट्टा सम्झनुस्, जब तपाईं चुरा लगाएकै हात भएकी एक महिलाको खुट्टामा लम्पसार परेर ढोग्नुभएको थियो।”

उनको भनाइमा, एक जेन–जी मित्र सेप्टेम्बर ८ को आन्दोलनमा सहभागी नभए पनि अहिले अन्तरिम सरकारलाई ‘कामचोर’ भन्दै संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारको माग गरिरहेका छन्। अर्का जेन–जी अगुवाले पनि केही दिनअघि कान्तिपुर टिभीको फायरसाइड कार्यक्रममा संसद पुनर्स्थापना र सर्वपक्षीय सरकारलाई विकल्पका रूपमा अघि सारेको र महिलामाथि अपमानजनक टिप्पणी गरेको उनको आरोप छ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com