नवलपरासी । वलपुरको मध्यविन्दु नगरपालिकामा रु १७ करोड ५६ लाख २८ हजारको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो ।
बिसं २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण सुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए ।
चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । भवनको आइतबार उद्घाटन गरिएको छ । ४२ कोठा सहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले जानकारी दिए । नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष रहेका छन् ।
सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पाएकपर्ने नगर प्रमुख अधिकारीको भनाइ छ ।
यसै महिनादेखि एमडिजिपीसहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने तयारी समेत सो अस्पतालले गरेको छ । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया