गुल्मी । गुल्मी सदरमुकाम तम्घास बसपार्क क्षेत्रस्थित एक अटो वर्कसपमा आगलागी भएको छ। रेसुङ्गा नगरपालिका–८ मा रहेको सुजता अटो वर्कसपमा विद्युत् सर्ट भई आगलागी हुँदा वर्कसप पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीका क्रममा वर्कसपमा कार्यरत बिक्रम सुनार घाइते भएका छन्। घाइते सुनारलाई उपचारका लागि गुल्मी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले जानकारी दिए। उनका स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

advertisement

आगलागीको सूचना प्राप्त हुनासाथ रेसुङ्गा नगरपालिकाको दमकल, नेपाल प्रहरी तथा नगरप्रहरीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। समयमै दमकल र सुरक्षाकर्मीको सक्रियताका कारण आगो फैलिन नपाई नियन्त्रणमा लिन सफल भएको बताइएको छ।

आगलागी भएको स्थान नजिकै पेट्रोल पम्प र मैत्री यातायातको चार्जिङ स्टेसनसमेत रहेकाले ठूलो जोखिम उत्पन्न भएको थियो। तर समयमै आगो नियन्त्रणमा आएसँगै सम्भावित ठूलो क्षतिबाट जोगिन सफल भएको प्रहरीले जनाएको छ।

आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ७ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com