काठमाडौं । सुर्खेतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आकर्षण बढ्दै गएको देखिएको छ। आइतबार विभिन्न राजनीतिक दल परित्याग गर्दै ४० भन्दा बढी नेता तथा कार्यकर्ता रास्वपामा प्रवेश गरेका छन्।
रास्वपाका नेता टेकबहादुर सिंहका अनुसार सुर्खेतको चिङ्गाड गाउँपालिका–१ बाट नेपाली कांग्रेसको तर्फबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित वडा अध्यक्षसहित ४० जना रास्वपामा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा नेपाली कांग्रेसका पूर्व वडा अध्यक्ष तथा वडा सभापति वीरबहादुर वली, २०५४ सालमा तत्कालीन गाविस वडा अध्यक्ष रहेका पदमबहादुर खत्री, नरेन्द्र सुनार, टीकाराम खत्री, टेकेन्द्र बूढा, रुद्रबहादुर खत्री, लालबहादुर नेवार, वीरसिंह रावल, खागीसरा अधिकारी, हस्तबहादुर खत्री, गुमानसिंह खत्री, जसबहादुर सुनारलगायतका व्यक्तिहरू रहेका छन्।
रास्वपाका नेता टेकबहादुर सिंह स्वयं पनि हालै कर्णाली प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण भेलाबाट पार्टी प्रवेश गरेका हुन्। उनी यसअघि नेपाली कांग्रेस सुर्खेत जिल्लाका उपसभापति थिए।
सिंहको पार्टी प्रवेशसँगै सुर्खेतमा रास्वपाप्रति जनआकर्षण थप बढेको बताइएको छ। रास्वपाले कर्णाली प्रदेशभर संगठनात्मक विस्तारलाई तीव्रता दिँदै वैकल्पिक राजनीति र सुशासनको एजेन्डामार्फत जनस्तरमा समर्थन विस्तार हुँदै गएको दाबी गरेको छ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया