काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले सरकारले राजनीतिक दलहरूसँग औपचारिक रूपमा वान–टु–वान छलफल गर्नु उपयुक्त हुने बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी सर्वपक्षीय छलफलमा पार्टीका तर्फबाट धारणा राख्दै बस्नेतले भने, ‘औपचारिक च्यानलमार्फत दलहरूसँग एक–एक गरेर छलफल गर्दा राम्रो हुन्छ। यस्ता ठूला फोरमहरूमा प्रायः औपचारिक निर्णयभन्दा सामान्य कुरा मात्र हुने गर्छन्।’
उनले कुनै पनि औपचारिक निर्णय अघि व्यापक अनौपचारिक गृहकार्य आवश्यक पर्ने उल्लेख गर्दै त्यसो गर्न सके निर्वाचनको वातावरण निर्माण गर्न सहयोग पुग्ने बताए।
बस्नेतले सरकारले जेनजीसँग गरेको सम्झौताको सैद्धान्तिक पक्षमा आफूहरू सहमत रहे पनि त्यसको व्यवहारिक कार्यान्वयन कत्तिको सम्भव हुन्छ भन्ने विषयमा गम्भीर ध्यान दिन आवश्यक रहेको बताए।
उनका अनुसार, निर्वाचन सुधारसँग सम्बन्धित धेरै विषयहरू एमालेले २०५६ सालदेखि उठाउँदै आएको भए पनि ती विषय अहिले जेनजी आन्दोलनमार्फत पुनः सतहमा आएका हुन्। उनले प्रत्येक निर्वाचनमा ‘यो पटक सम्भव भएन, अर्को पटक सुधार गरिन्छ’ भन्ने प्रवृत्ति दोहोरिँदै आएको स्मरण गराए।
साथै, शान्ति–सुरक्षाको अवस्थाका कारण फागुन २१ गते निर्वाचन हुन नसक्ने बुझाइ पार्टीको रहेको बस्नेतले बताए। संविधान संशोधनलगायतका विषयमा सरकारले जेनजीसँग सम्झौता गरेको उल्लेख गर्दै उनले सरकार आफ्नो मूल उद्देश्यबारे स्पष्ट हुनुपर्ने आवश्यकता औंल्याए।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया