काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनलाई कुनै संकटको घडीको रूपमा नहेर्नुपर्ने र यसलाई परिवर्तनको मार्गको रूपमा बुझ्नुपर्ने बताएकी छिन्।
सोमबार सिंहदरबारमा आयोजित सर्वपक्षीय बैठकमा सम्बोधन गर्दै उनले भनिन्, ‘निर्वाचन भनेको हाम्रो लागि संकटको घडी होइन, खुशीको घडी हो। परिवर्तनको मार्ग हो। आजसम्म नेपालमा आएका धेरै परिवर्तन निर्वाचनकै माध्यमबाट सम्भव भएका हुन्।’
प्रधानमन्त्री कार्कीले हालको चुनौती युवा पुस्तालाई नेतृत्वमा ल्याउने भएको पनि उल्लेख गरिन्। उनले भनिन्, ‘अचानक भदौ २३ र २४ गते भएका घटनाले राष्ट्रलाई सोच्न बाध्य पारे। राष्ट्रले एउटा परिवर्तन महसुस गर्यो। अबको चुनौती भनेको युवा वर्गलाई फ्रन्ट रोमा ल्याउने र उनीहरूको नेतृत्वमा मुलुकलाई अघि बढाउने हो।’
उनले देशको सर्वोच्च अधिकार जनता सँग रहेको भन्दै थपिन्, ‘कुनै पनि राजनीतिक दलभित्रको भागबन्डाले जनतालाई असर पुर्याउन हुँदैन। सबैभन्दा ठूलो शक्ति भनेको जनता हो। राजनीतिक दल भनेको दोस्रो कुरा हो। हामीले केका लागि परिवर्तन गर्न चाहन्छौँ? जेनजी आन्दोलनमा बालक मारिए, त्यसले जनतामा प्रभाव पारेको छ। हामीले जेनजीले के खोजेको र युवा पुस्ताले के चाहेको भन्ने बुझ्नै पर्छ। मेरो गोरुको बाह्रै टक्का गरेर हुँदैन।’
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया