काठमाडौं । प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त संस्थामा पारिश्रमिक लिएर बहाल रहेका व्यक्ति राजनीतिक दलको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत उम्मेदवार सूचीमा समावेश भएमा अयोग्य ठहरिने व्यवस्था गरिएको छ।

प्रचलित निर्वाचन कानुनअनुसार सजाय पाएका र सजाय भोगेको मितिले दुई वर्ष पूरा नभएका व्यक्तिहरू पनि उम्मेदवार हुन अयोग्य हुनेछन्। निर्वाचन आयोगले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तय गरेको छ। २७५ सदस्यीय प्रतिनिधिसभामध्ये १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० जना समानुपातिक निर्वाचन प्रणालीमार्फत चयन हुने व्यवस्था छ।

advertisement

आयोगले पछिल्लोपटक समानुपातिक निर्वाचन प्रणालीसम्बन्धी अध्ययन गरी जनसङ्ख्याका आधारमा प्रतिशत निर्धारण गरिसकेको छ। प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन (पहिलो संशोधन) निर्देशिका, २०८२ अनुसार भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, आगुऔषधको कारोबार, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग र अपहरणजस्ता गम्भीर कसुरमा दोषी ठहर भएकाहरू अयोग्य हुनेछन्।

नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाएका, जन्मकैद वा २० वर्ष वा सोभन्दा बढी कैदको सजाय पाई फैसला अन्तिम भइसकेका व्यक्तिहरू पनि उम्मेदवार हुन पाउने छैनन्। सङ्गठित अपराधसम्बन्धी कसुरमा कैदको सजाय पाएका वा कर्तव्य ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम कैद भोगी सजाय पूरा गरेको मितिले छ वर्ष नपुगेकाहरू पनि अयोग्य ठहरिने कानुनी व्यवस्था छ।

यस्तै, जातीय भेदभाव तथा छुवाछुत, बोक्साबोक्सी आरोप वा बहुविवाहसम्बन्धी कसुरमा कैद भोगी सजाय पूरा गरेको मितिले तीन वर्ष पूरा नभएकाहरू उम्मेदवार बन्न पाउँदैनन्। कालोसूचीमा रहेका व्यक्ति कालोसूची अवधिभर, कैदमा रहेका व्यक्ति कैद अवधिभर, मानसिक सन्तुलन ठीक नभएका तथा विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएका व्यक्तिहरू पनि उम्मेदवार हुन अयोग्य हुनेछन्।

तर, नेपालको नागरिक भएको, कुनै गाउँपालिका वा नगरपालिकाको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको, २५ वर्ष उमेर पूरा भएको, संघीय कानुनले अयोग्य नठहर गरेको र कुनै लाभको पदमा बहाल नरहेको व्यक्ति भने उम्मेदवार हुन योग्य मानिने व्यवस्था गरिएको छ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com