एजेन्सी। पत्नी छँदाछँदै एक युवकले सालीसँग बिहे गर्न परिवारलाई धम्क्याएको घटना प्रकाशमा आएको छ । गाउँकै एक टेलिफोन टावरमा चढेर ती युवकले सालीसँग बिहे नगराउने हो भने हामफाल्ने धम्की दिएका थिए ।
घटना भारतको उत्तर प्रदेश राज्यको औरैया जिल्लास्थित गोपालपुर गाउँको हो । शहरुद्दीन उर्फ शेरा नाम गरेका युवक सोमबार स्थानीय समयअनुसार बिहान करिब साढे ९ बजे अचानक टेलिफोन टावरमा चढे ।
टावरमाथिबाट शहरुद्दीनले आफू सालीसँग बिहे गर्न इच्छुक रहेको र बिहे नगराएको खण्डमा हामफाल्ने चेतावनी दिए। हो-हल्ला सुनेपछि उनका परिवारका सदस्यका साथै गाउँलेहरू भेला भए। सोही भिडबाट कसैले प्रहरीलाई घटनाबारे जानकारी गरायो ।
शहरुद्दीनकी पत्नीसमेत डेढ वर्षीय बच्चा लिएर घटनास्थलमा पुगिन् । शहरुद्दीन आफ्नो अडानबाट टसमस नभएपछि प्रहरीले उनकी सालीलाई बोलाएको बताइन्छ
भारतीय सञ्चारमाध्यमका अनुसार सालीसँग बिहे गराइदिने भन्दै प्रहरीकै समन्वयमा उनलाई टेलिफोनको टावरबाट करिब तीन घण्टापछि तल झारिएको थियो। लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रक्रिया अघि बढाएको जनाइएको छ ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार












प्रतिक्रिया