काठमाडौं । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री जगदीश खरेलले नेकपा एमाले पनि चुनावका लागि तयार रहेको बताएका छन्।
च्यासलस्थित एमाले केन्द्रीय कार्यालयको आज अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री खरेलले नेकपा एमालेसँग भएको भेटघाट चुनावमुखी रहेको उल्लेख गरे। उनले एमाले चुनावका लागि तयार भइसकेको र सरकारले पनि त्यसका लागि आवश्यक वातावरण बनाउन तयारी अघि बढाएको बताए। उनका अनुसार अब मुलुक चुनावतर्फ होमिएको छ।
एमालेका तर्फबाट निष्पक्ष चुनावी वातावरण बनाउन आग्रह आएको उल्लेख गर्दै मन्त्री खरेलले सरकारले स्वतन्त्र, भयरहित र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेताहरूको स्थानहद (आचारसंहिता) सम्बन्धी विषयमा पनि आयोग र सरकार दुवै लचक हुन सक्ने उनले बताए। उनले निर्वाचनलाई मुलुकको “महायज्ञ” र “महोत्सव” का रूपमा वर्णन गर्दै सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे।
“निर्वाचन आयोग र सरकार आ–आफ्नो तहबाट काम गरिरहेका छन्। निर्वाचन सफल बनाउन जहाँ–जहाँ सरकारको अधिकार क्षेत्रभित्र लचक हुन सकिन्छ, त्यहाँ सरकारले आवश्यक वातावरण बनाउनेछ,” मन्त्री खरेलले भने।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया