काठमाडौं । नेपाल सद्‌भावना पार्टीका वरिष्ठ नेता बद्री मण्डलको निधन भएको छ । ८७ वर्षको उमेरमा मंगलबार बिहान उनको निधन भएको पार्टीका अध्यक्ष अनिलकुमार झाले जानकारी दिएका छन् ।

२०५४ सालमा नेपाल सद्‌भावना पार्टीमा आबद्ध भएदेखि मण्डल मधेस, मधेसी अधिकार र मधेसवादका पक्षमा निरन्तर सक्रिय रहँदै आएका थिए । यद्यपि, तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा पार्टी परित्याग गरी सरकारमा सहभागी भएपछि उनी व्यापक आलोचनामा परेका थिए । राजाको शासन अन्त्यपछि उनी पुनः मधेसकै राजनीतिमा फर्किए पनि सक्रिय भूमिका भने देखिन सकेन ।

advertisement

नेपाल सद्‌भावना पार्टीका संस्थापक नेता गजेन्द्रनारायण सिंहको निधनपछि मण्डल पार्टी अध्यक्ष बनेका थिए । तर, राजविराजमा सम्पन्न चौथो महाधिवेशनमा उनलाई पार्टीबाट हटाउने प्रयास भएको थियो । भरतविमल यादव, हृदयेश त्रिपाठी, राजेन्द्र महतो, रामेश्वर राय यादवलगायत नेताहरू त्यस अभियानमा संलग्न थिए । सत्ता निकटताका कारण ती प्रयास सफल हुन सकेनन् र अन्ततः पार्टी विभाजन भयो । त्यसपछि आनन्दी देवी सिंहको नेतृत्वमा नेपाल सद्‌भावना पार्टी (आनन्दी देवी) गठन गरिएको थियो ।

२०६१ सालमा मण्डलले राजा ज्ञानेन्द्र शाहको समर्थन गर्दै पार्टी अध्यक्षका रूपमा सक्रिय भूमिका खेलेका थिए । राजाको शासनकालमा उनी उपप्रधानमन्त्री तथा मन्त्रीसमेत बने । पार्टीभित्र ती निर्णयको चर्को विरोध भएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिँदै लक्ष्मणलाल कर्णलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेका थिए ।

कार्यवाहक अध्यक्ष कर्णको पहलमा नेपाल सद्‌भावना पार्टी र नेपाल सद्‌भावना पार्टी (आनन्दी देवी) बीच एकीकरण भए पनि पार्टीभित्र विवाद भने निरन्तर रहिरह्यो । राजाको शासन अन्त्यपछि लामो समय निष्क्रिय रहेका मण्डल केही समय राजेन्द्र महतो नेतृत्वको सद्‌भावना पार्टीमा पनि सहभागी भए । पछि सद्‌भावना पार्टी अन्य दलहरूसँग मिलेर राजपा नेपाल बनेपछि उनी पुनः राजनीतिक रूपमा निष्क्रिय भए ।

पछिल्लो समय रामकुमार महतोले नेपाल सद्‌भावना पार्टीलाई निर्वाचन आयोगमा पुनः दर्ता गराएर सक्रिय बनाएका थिए, जहाँ बद्री मण्डल सर्वमान्य नेताका रूपमा स्थापित थिए । हाल उनी पार्टीका वरिष्ठ नेता पदमा रहेका थिए ।

पार्टी अध्यक्ष अनिलकुमार झाले मण्डलको निधनले परिवारले अभिभावक गुमाएको अनुभूति गरेको बताउँदै मधेसवादी राजनीतिले अपूरणीय क्षति व्यहोर्नु परेको प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com