काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमाले आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन तयार रहेको जानकारी दिएका छन्। मंगलबार एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका मन्त्री खरेलले पार्टी नेतृत्वसँगको छलफलपछि यस्तो धारणा सार्वजनिक गरेका हुन्।

उनका अनुसार सरकारले निर्वाचनका लागि आवश्यक राजनीतिक, प्रशासनिक र सुरक्षा वातावरण निर्माण गरिरहेको छ। मन्त्री खरेलले एमालेसहित सबै राजनीतिक दललाई ढुक्क भएर चुनावी गतिविधिमा सक्रिय हुन आग्रह गर्दै सरकार स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

advertisement

छलफलका क्रममा एमाले महासचिव शंकर पोखरेलले सरकारले उचित वातावरण सुनिश्चित गरे पार्टी निर्वाचन प्रक्रियामा सहभागी हुने स्पष्ट पारेको मन्त्री खरेलले जानकारी दिए। उनले कुनै पनि नेता, कार्यकर्ता वा मतदातामाथि अवरोध नहुने गरी सुरक्षा व्यवस्था मिलाइने र निर्वाचनलाई विश्वसनीय बनाइने बताए।

एमालेले निर्वाचनमा भाग लिने प्रतिबद्धता जनाएसँगै देश अब पूर्ण रूपमा चुनावी मोडमा प्रवेश गरेको सरकारको बुझाइ छ। यसै सन्दर्भमा मन्त्री खरेलले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थानहद (बन्देज) को विषयमा पनि सरकार लचक बन्न सक्ने संकेत दिएका छन्। उनले निर्वाचनमा सहभागी हुने दल र नेताहरूका हकमा सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर आवश्यक सहजीकरण गर्न तयार रहेको बताए।

भदौमा भएका घटनाबारे छानबिन गर्न गठित आयोगले आफ्नो काम गरिरहेको उल्लेख गर्दै मन्त्री खरेलले निर्वाचनलाई लोकतान्त्रिक उत्सवका रूपमा सफल पार्न र मुलुकलाई राजनीतिक निकासतर्फ लैजान सरकारले अधिकतम प्रयास गर्ने बताए। “चुनाव हाम्रो लागि महायज्ञ र महोत्सव हो, उनले भने,  सुशासन र भ्रष्टाचार नियन्त्रण सरकारका प्रमुख प्राथमिकता हुन्। ती मूल्यलाई आत्मसाथ गर्दै जहाँ सम्भव हुन्छ, सरकारले लचकता अपनाउँछ।

यसैबीच, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले पनि निर्वाचनको वातावरण बनाउन एमालेले सरकारको ध्यानाकर्षण गराएको र सरकारले त्यसलाई सकारात्मक रूपमा लिएर काम अगाडि बढाउने बताए। उनले वर्तमान राजनीतिक अवस्थाबाट निकास निकाल्ने सबैभन्दा उपयुक्त र लोकतान्त्रिक उपाय निर्वाचन नै भएको स्पष्ट पारे।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com