काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीका कार्यालय अनुगमन गर्ने भएको छ।
सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज ती तीन दलका कार्यालयमा पुगेर अनुगमनका साथै वार्ता र संवाद गर्ने जनाएको छ। तालिकाअनुसार समितिले बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालयमा पुगेर नेताहरूसँग छलफल गर्नेछ।
उक्त समिति कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा गठन गरिएको हो, जसमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य छन्।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा सरकारले सरोकारवाला राजनीतिक दलहरूसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो।
सञ्चारमन्त्री खरेलले निर्वाचनको वातावरण बनाउन सरकार चरणबद्ध रूपमा राजनीतिक वार्ता र संवाद अघि बढाइरहेको बताए। उनले सरकार इमानदार रूपमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध रहेको सन्देश दिनुका साथै दलहरूलाई सकारात्मक दबाब सिर्जना गर्ने उद्देश्यले दलकै कार्यालयमा पुगेर संवाद भइरहेको बताए।
यसअघि मंगलबार उक्त समितिले नेपाली काँग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीका कार्यालयमा पुगेर अनुगमन तथा नेताहरूसँग छलफल गरेको थियो।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया