काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरूले आन्तरिक तयारीलाई तीव्र बनाएका छन्। निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रक्रिया एकैसाथ अघि बढाएको छ।

आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। यता प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेस गर्ने समयसीमा नजिकिँदै जाँदा दलहरूले आवश्यक राजनीतिक छलफल र तयारी तीव्र पारेका हुन्।

advertisement

विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका तथा नयाँ दर्ता भएका सबै राजनीतिक दलहरूले समानुपातिक सूची तय गर्न आन्तरिक तयारी गरिरहेका छन्। यसैबीच मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की तथा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेतासँग निर्वाचनका विषयमा छलफल गरेका थिए। सरकारले आवश्यक तयारी गरिरहेको र निर्वाचन आयोगले प्रक्रिया तीव्र बनाएकाले क्रमशः निर्वाचनको वातावरण तयार हुँदै गएको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा सहभागी हुन निवेदन दिएका छन्। आयोगले समानुपातिक निर्वाचन प्रणालीमा सहभागी हुने दलका लागि कार्यतालिका सार्वजनिक गरिसकेको छ।

दलहरूले नयाँ प्रतिशतका आधारमा समावेशी समूह मिलाएर आगामी पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने समयसीमा तोकिएको छ। समानुपातिकतर्फको उम्मेदवार छनोट सहज बनाउन आयोगले राजनीतिक दलहरूलाई आवश्यक तालिमसमेत प्रदान गरेको छ।

निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार जनसंख्याका आधारमा समानुपातिकतर्फको प्रतिशत निर्धारण गरेको छ। जनगणनामा समावेशी समूहहरूको जनसंख्यामा देखिएको घटबढअनुसार आवश्यक व्यवस्था गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com