काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा मंगलबार शीतनिवासमा पहिलोपटक प्रधानमन्त्री सुशीला कार्कीसहित प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको छ। आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउनका लागि पौडेलको पहलमा कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको हो।
राष्ट्रपति कार्यालयका अनुसार, निर्वाचन सम्पन्न गर्न अनुकूल वातावरण बनाउन समझदारी कायम भएको छ। राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार, चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने सहमति भएको छ।
पोखरेलले राष्ट्रपतिको भनाइ उद्धृत गर्दै भने, “देशको परिस्थिति गम्भीर र संवेदनशील रहेको अवस्थामा निकास दिन निर्वाचन घोषणा गरिएको हो। यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु हामी सबैको दायित्व हो।”
राष्ट्रपतिको मतअनुसार, देशको वर्तमान जटिल परिस्थितिको समाधानका लागि निर्वाचन नै उपयुक्त विकल्प हो। त्यसैले २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख तीन दलका शीर्ष नेताहरूलाई राष्ट्रपतिले आग्रह गरेका छन्। प्रधानमन्त्री कार्की बैठकबाट बाहिरिएपछि देउवा, ओली र प्रचण्ड फेरि राष्ट्रपतिसँग छलफलमा सहभागी भएका छन्।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया