काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले कर्णालीका दूरदराज जिल्लाहरू, विशेष गरी जुम्लामा मोबाइल नेटवर्कको समस्या औँल्याउँदै सञ्चारमन्त्री जगदीश खरेलको आलोचना गरेका छन्।
शाहीले बुधबार सामाजिक सञ्जालमार्फत सञ्चारमन्त्रीको ध्यानाकर्षण गर्दै भनेका छन् कि जुम्लामा मोबाइल टावर निर्माण भए पनि नेटवर्क उपलब्ध नभएको अवस्था छ। उनी भन्छन्, ‘जुम्लामा टावर बनाइयो तर नेटवर्क आउँदैन। यता सञ्चारमन्त्री ‘फ्री वाइफाइ’ घोषणा गरेर प्रचार गर्छन्। यो समस्या जुम्लामा मात्र होइन, सिङ्गो कर्णाली र अन्य दूरदराजका क्षेत्रमा देखिन्छ।’
शाहीले सरकारले नेतृत्व फेरिए पनि कर्णाली र दुर्गम क्षेत्रप्रति दृष्टिकोणमा कुनै परिवर्तन नभएको बताए। नयाँ नेतृत्व आए पनि दूरदराज क्षेत्रका मानिसप्रति व्यवहार उस्तै रहेको उनको आरोप छ।
सञ्चारमन्त्री खरेललाई सन्देश दिँदै शाहीले भनेका छन्, ‘गफ चुट्ने होइन, टावर बनाइदिएका छौं नेटवर्क सञ्चालन गरिदिनुहोस्।’
उनको आलोचना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रतिक्रिया प्राप्त भइरहेको छ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया