काठमाडौं । मोडेल एलिजा गौतम आम जनता पार्टी (आजपा) मा आबद्ध भएकी छन्। बुधबार काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न आजपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुँदै उनले औपचारिक रूपमा पार्टी प्रवेश गरेकी हुन्।
आजपा अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमलाई टीका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए।
पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै गौतमले समाजसेवाका कामलाई निरन्तरता दिँदै राजनीतिक माध्यमबाट अझ प्रभावकारी रूपमा आवाज उठाउने उद्देश्यसहित आजपामा आबद्ध भएको बताइन्। आजपाले उठाउँदै आएका मुद्दा, नीति र विचार मुलुक तथा आम नेपाली जनताको हितमा केन्द्रित रहेको उल्लेख गर्दै उनले समाजसेवाका कार्यलाई थप सशक्त ढंगले अघि बढाउने प्रतिबद्धता जनाइन्।
यसैबीच पछिल्लो समय विभिन्न राजनीतिक दल परित्याग गरी आजपामा प्रवेश गर्नेहरूको क्रम बढ्दै गएको छ। आजपा सचिवालय सदस्य सुभाष साहका अनुसार नेपाली कांग्रेस निकट जनजाति महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष तेजबहादुर कुम्हाल, नेपाली कांग्रेस सर्लाहीका नेता तथा पूर्वमुखिया रामबाबु साह, राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य ललिता चौधरी (सिरहा) लगायतका नेताहरू पनि आजपामा प्रवेश गरेका छन्।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया