हेटौंडा । हेटौंडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रमा अवस्थित युनिक प्लास्टिक उद्योग लिमिटेडले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतको दरले प्रति शेयर रु. १०० मूल्यमा ७,५०,००० कित्ता शेयर निष्काशन गर्न लागिएको हो। यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।
यस सम्बन्धमा आज नेपाल लाइफ क्यापिटलको कमलपोखरी स्थित कार्यालयमा एक कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा युनिक प्लास्टिक उद्योग लिमिटेडतर्फबाट अध्यक्ष हरि बहादुर बस्नेत र नेपाल लाइफ क्यापिटल लिमिटेडतर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।
कम्पनीले विगत ५ वर्षदेखि उच्च गुणस्तरीय आधुनिक प्रविधिको प्रयोग गर्दै नेपाल गुणस्तरीय मार्किङ प्रणालीअनुसार १६ एमएम देखि १६० एमएमसम्मका विभिन्न साइजका, १०० भन्दा बढी प्रकारका दबाब क्षमतायुक्त पाइप उत्पादन गर्दै आएको छ। यी पाइपहरू खानेपानी आपूर्ति, सिँचाइ, पहाडी क्षेत्रका पानी लाइन, ढल निस्सारण, ग्यास लाइन, दूरसञ्चार, विद्युत तथा अन्य भूमिगत संरचनामा व्यापक रूपमा प्रयोग भइरहेका छन्।
कम्पनीको लक्ष्य गुणस्तरीय, दिगो, सुरक्षित र प्रविधिमैत्री उत्पादन नेपालमा उपलब्ध गराउँदै स्वदेशमै भरोसिलो पाइप उत्पादन गरी देशको पूर्वाधार विकासमा योगदान पुर्याउने रहेको छ। निकट भविष्यमा कपिलबस्तु जिल्लाको चन्द्रौटामा आफ्नो जग्गामा शाखा विस्तार गरी थप प्लास्टिकजन्य सामग्री उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक संस्था नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, योजना व्यवस्थापन, डिपोजिटरी सेवा र संस्थागत परामर्श प्रदान गर्न अनुमती प्राप्त मर्चेन्ट बैंकिङ संस्था हो।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार












प्रतिक्रिया