विराटनगर । मोटरसाइकल दुर्घटनामा परी कोशी प्रदेशका उदाउँदा क्रिकेट खेलाडी मिनष थापाको निधन भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका–४ को भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाले ज्यान गुमाएका हुन् ।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेशचोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका थापालाई तत्काल उपचारका लागि कोशी अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
स्वर्गीय थापा कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटरका रूपमा चिनिन्थे । उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने कोशी प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न फ्रेन्चाइज क्रिकेट प्रतियोगितामा समेत सहभागिता जनाएका थिए ।
उनको असामयिक निधनले नेपाली क्रिकेट क्षेत्रमा शोकको छाया छाएको छ ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार












प्रतिक्रिया