काठमाडौं । जनादेश पार्टीकी संस्थापक सदस्य एलिजा गौतमले पार्टी स्थापना भएको एक महिनामै जनादेश पार्टी परित्याग गरेकी छन् । उनले प्रभु साहको नेतृत्वमा रहेको आम जनता पार्टी (आजपा)मा प्रवेश गर्दै उपाध्यक्षको जिम्मेवारी सम्हालेकी छन् ।
पत्रकार ऋषि धमलाकी पत्नीसमेत रहेकी गौतमले जनादेश पार्टी छाडेर आजपामा आबद्ध भएको र उपाध्यक्ष बनेको जानकारी सामाजिक सञ्जालमार्फत स्वयं सार्वजनिक गरेकी हुन् । उनले फेसबुकमा लेखेकी छन्, ‘म एलिजा गौतमलाई आम जनता पार्टीमा उपाध्यक्षका रूपमा स्वागत गर्नुभएकोमा पार्टी अध्यक्ष आदरणीय प्रभु साहप्रति हार्दिक आभार व्यक्त गर्दछु।’
अधिवक्ता रमणकुमार कर्णको अध्यक्षतामा गठन भएको जनादेश पार्टीमा गौतम केन्द्रीय सदस्यको सूचीमा समावेश थिइन् । २५ कात्तिकमा निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन पेश गर्न जाँदा उनी पनि सहभागी भएकी थिइन् । तर बुधबार उनले उक्त पार्टी छाड्दै प्रभु साह नेतृत्वको आजपामा औपचारिक रूपमा प्रवेश गरेकी छन् ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया