काठमाडौं । वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि नेताहरू सक्रिय हुँदै भेला हुन थालेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कांग्रेस नेता सुनील शर्मा, र जेनजी अभियानका चर्चित अभियन्ता सुदन गुरुङ हाल ललितपुरको कुपण्डोलस्थित कुमार बेनको निवासमा भेटवार्तामा जुटेका छन्। वैकल्पिक अभियानका अन्य प्रमुख नेता सागर ढकाल पनि भर्खरै पुगेका छन् भने सुदन गुरुङ अघि नै उपस्थित छन्।
रास्वपा सभापति लामिछानेसँग असिम शाह र गणेश कार्की पनि बैठकमा सहभागी रहेका छन्।
सोमबार राति लामो समयसम्म भएको छलफलमा रवि र बालेनले आगामी रणनीतिका लागि प्रारम्भिक वार्ता गरिसकेका थिए। त्यसबेलामा सरकारको नेतृत्व बालेनले र पार्टीको नेतृत्व रविले सम्हाल्ने प्रस्ताव आएका समाचार सार्वजनिक भएका थिए। अर्को निर्वाचनपछि भने सरकारको नेतृत्व रविले गर्ने र बालेनले सहयोग गर्ने योजना रहेको थियो। यद्यपि, त्यसमा ठोस सहमति भने हुन सकेन, तर निकट स्रोतका अनुसार सकारात्मक छलफल भएको थियो।
केही दिनयता बालेन शाहले राजनीतिक सक्रियता बढाएका छन्। रविसँगको भेटपछि उनी बुधबारदेखि विभिन्न राजनीतिक शक्ति, व्यक्तित्व र जेनजी अभियन्तासँग सक्रिय छलफलमा छन्। बिहीबार पनि उनले ऊर्जा मन्त्री कुलमान घिसिङलगायत महत्वपूर्ण व्यक्तिसँग भेटवार्ता गरेका छन्।
स्रोतका अनुसार, यी भेटघाटहरूले आगामी चुनाव र वैकल्पिक गठबन्धनको दिशा निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया