काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले हाल आफूलाई जेन–जी आन्दोलनको दबाबका कारण सरकार छोड्नुपर्ने अवस्था सिर्जना भएको स्वीकार गरेकी छिन्। बिहीबार आयोजित बाह्रखरी कथा प्रतियोगिता विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उनले आफ्नो अनुभव साझा गर्दै यस्तो दुखेसो पोखेकी हुन्।
प्रधानमन्त्री कार्कीले भनिन्, ‘राजनीतिक दलले पनि मारले गाली गर्छन्। अहिले छोड, भोलि छोड, पर्सि छोड भन्छन्। तर छोड्दा पनि सबैले मलाई गाली गर्ने अवस्था छ।’ उनले थपिन्, ‘छोड्ने निर्णय गर्दा पनि ‘के गर्याौ?’ भन्ने भाष्य आउँछ। हामी पेन्डुलम जस्तो भयौँ, धेरै मेहनत र धैर्यसाथ काम गरिरहेका छौँ।’
युवाहरूबाट ‘निर्वाचन किन चाहियो?’ जस्ता प्रश्न र चुनौतीपूर्ण प्रतिक्रिया आउँदा आफू तनावमा परेको उनले सुनाइन्। अहिलेको परिस्थितिलाई उनले सुखद नभएको अवस्थाको रूपमा वर्णन गरिन्।
प्रधानमन्त्री कार्कीले कथाकारहरूलाई आफ्नै बारेमा कथा लेखिदिन आग्रह गर्दै बताए कि जेन–जी समूहका करिब २५–३० वटा भिन्न–भिन्न समूहले एउटाले एउटा काम, अर्कोले अर्को काम गर्ने भन्दै आफूलाई हैरान पारेको छ।
‘अब त मुलुक बाङ्लादेश नहोस् भन्ने सुरमा हामी छौँ,’ उनले थपिन्। यसरी उनले वर्तमान राजनीतिक चुनौती, दबाब र कठिन परिस्थितिबारे गहन अनुभव साझा गरिन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया