काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाली क्षेत्रमा परेको हिमपात र तराई–मधेशमा फैलिएको शीतलहरका कारण जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
मौसममा आएको परिवर्तनले विशेषगरी गरिब तथा सीमान्तीकृत वर्गका नागरिकहरू बढी प्रभावित भएको उल्लेख गर्दै उनले संघ, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारलाई प्रभावित जनताका लागि तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
प्रचण्डले मानवीय क्षति र स्वास्थ्यसम्बन्धी समस्या उत्पन्न हुन नदिन समयमै आवश्यक प्रतिकार्य गर्नुपर्नेमा जोड दिएका छन्। साथै, प्रभावित समुदायका लागि राहत तथा आवश्यक सहयोग संकलन र समन्वय गर्न पार्टीका सम्बन्धित सबै समितिलाई सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्।
उनले जारी गरेको वक्तव्यमा मौसमजन्य विपद्का कारण सिर्जित यस कठिन परिस्थितिमा सबै निकायहरू समन्वयात्मक रूपमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रकाशित मिति: १० पुस २०८२, बिहिबार













प्रतिक्रिया