काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा समाहित गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कुनै अप्रत्याशित अवरोध नआएमा आजै दुवै पक्षबीच सहमति जुट्ने सम्भावना रहेको स्रोतले जनाएको छ।

रास्वपा सभापति रवि लामिछाने र मेयर साहबीच दुई चरणमा भएको भेटवार्तापछि सहकार्यको वातावरण बनेको हो। सहमतिको मस्यौदा तयार गर्न रास्वपाका असिम साह, उनका दाइ आसिफ साह तथा बालेनका निकट कुमार व्यञ्जनकार सक्रिय छन्। प्रारम्भदेखि नै यी तीन जनाले रवि र बालेनबीच समझदारी गराउने पहल गर्दै आएका थिए।

advertisement

मस्यौदाको विवरण सार्वजनिक नगरिए पनि स्रोतका अनुसार बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने समझदारी हुन लागेको छ। अदालतमा विचाराधीन मुद्दाका कारण रवि लामिछाने तत्काल प्रधानमन्त्रीको दाबेदार बन्न नसक्ने अवस्थामा रहेकाले वैकल्पिक नेतृत्वका रूपमा बालेनलाई अघि बढाउने विषयमा सकारात्मक सहमति बनेको बताइन्छ।

रास्वपामा बालेनले कुनै औपचारिक पदको दाबी नगरे पनि सभापतिपछिको वरीयतामा रहने अपेक्षा गरिएको छ। हाल पार्टीमा उपसभापति डीपी अर्याल दोस्रो वरीयतामा छन्।

बालेनसँगै विभिन्न वैकल्पिक शक्ति र जेन–जी समूहहरू पनि रास्वपामा समाहित हुने दाबी गरिएको छ। उज्यालो नेपाल पार्टी गठन गरेका ऊर्जामन्त्री कुलमान घिसिङ बालेनसँग निरन्तर संवादमा रहे पनि पार्टी मर्जबारे ठोस सहमति भने भइसकेको छैन। रवि लामिछाने र कुलमान घिसिङबीच प्रत्यक्ष वार्ता हुन बाँकी रहेको बताइन्छ।

त्यसैगरी, सुधन गुरुङ, रक्षा बमलगायत जेन–जी अभियन्ताहरूसँग बालेनले छलफल गरिसकेको र उनीहरू पनि रास्वपामा जाने तयारीमा रहेको स्रोतको दाबी छ। श्रम संस्कृति पार्टी गठन गरी चुनावी तयारीमा रहेका हर्क साम्पाङलाई पनि बालेनले सहकार्यका लागि प्रयास गरे तापनि उनी सकारात्मक नरहेको बताइन्छ।

बालेनले आगामी आमनिर्वाचनमा रास्वपाको चुनावचिन्ह ‘घन्टी’बाट उम्मेदवारी दिने तयारी गरेका छन्। उनी कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने टुंगो नलागे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने इच्छा रहेको चर्चा छ।

आगामी निर्वाचनमा उम्मेदवार चयन गर्दा बालेनलाई कति हिस्सा दिने भन्ने विषयमा पनि दुवै पक्षबीच छलफल जारी छ। समानुपातिकतर्फको बन्द सूची बुझाउने समयसीमा नजिकिँदै जाँदा सहमतिको दबाब झन् बढेको स्रोतले जनाएको छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com