काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशन अनिवार्य भएको स्पष्ट पारेका छन्। विशेष महाधिवेशनका पक्षधरले पेश गरेको स्मरणपत्र उनले बुझेको अवसरमा महामन्त्री थापाले कुनै पनि व्यक्तिलाई विधान उल्लङ्घन गर्ने छुट नभएको बताए।
महामन्त्री थापाले स्मरणपत्रको विषयलाई कार्यसम्पादन समितिको आगामी बैठकमा जानकारी गराइने पनि बताएका छन्। उनले भने, ‘पार्टीको विधानभन्दा माथि हामी कोही पनि छैनौं। विधान नमान्ने सुविधा कसैलाई छैन।’
कांग्रेसको विधानको धारा १७(२) अनुसार, ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको लिखित हस्ताक्षर पेश गरेपछि तीन महिनाभित्र विशेष महाधिवेशन माग गर्न सकिन्छ। यसै आधारमा २९ असोजमा २४८८ प्रतिनिधिको हस्ताक्षरसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशनको प्रस्ताव पेश गरिएको थियो।
केन्द्रीय कार्यालयमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले स्मरणपत्र बुझेका थिए। स्मरणपत्र बुझ्ने क्रममा महामन्त्री थापाले यस विषयलाई आगामी कार्यसम्पादन समितिको बैठकमा राखिने बताए।
थापाले थपे, ‘विशेष महाधिवेशन अब केन्द्रीय कार्यसमितिको अनिवार्य जिम्मेवारी भित्र पर्छ। यो ऐच्छिक विषय होइन। यदि १५ औं महाधिवेशन भइसकेको भए यो मागको आफैं सार्थकता सकिन्थ्यो। तपाईँको मागलाई सम्बोधन गर्नु अनिवार्य हुन्छ।’
महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘विशेष महाधिवेशनको मागमा कार्यसम्पादन समितिले उपयुक्त निर्णय गरेर अगाडि बढाउनु पर्छ। विधानको कार्यान्वयन गर्नु महामन्त्रीहरूको दायित्व हो।’
विशेष महाधिवेशनका पक्षधरले भने, यदि नियमित महाधिवेशन सम्पन्न भएमा विशेष महाधिवेशनको माग स्वतः निष्क्रिय हुने भएकाले विधान कार्यान्वयन अनिवार्य रहेको बताएका छन्।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया