काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा अस्थायी रूपमा बिजुली कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार पानीपोखरी र हस्पिटल फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुनेछ।
प्राधिकरणका अनुसार लाजिम्पाट, पानीपोखरी, महाराजगन्ज तथा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्रमा बिजुली कटौती हुनेछ। साथै राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) र नेपाल प्रहरी अस्पताल आसपासका क्षेत्र पनि प्रभावित हुने महाराजगन्ज वितरण केन्द्रले जनाएको छ।
काठमाडौँ उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत वितरण प्रणाली भूमिगत गर्ने कार्य भइरहेकाले भूमिगत कार्य सम्पन्न भइसकेका केबलहरू जोड्नुपर्ने भएकाले विद्युत् कटौती गर्न लागिएको प्राधिकरणले स्पष्ट पारेको छ।
तोकिएको समयभन्दा अगावै कार्य सम्पन्न भएमा त्यसअघि नै विद्युत् सेवा सुचारु गरिने सूचनामा उल्लेख गरिएको छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार












प्रतिक्रिया