काठमाडौं । रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सहमति हुने निश्चितजस्तै बनेपछि नेपाली कांग्रेस र नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै सम्भावित गठबन्धनबारे आन्तरिक छलफल तीव्र बनाएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बालेन शाह र उज्यालो नेपाल पार्टीका अभियन्ता कुलमान घिसिङ एउटै मोर्चामा चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी अन्तिम चरणमा पुगेको सन्दर्भमा कांग्रेस–एमाले नेतृत्वबीच संवाद बढेको स्रोतको दाबी छ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली हाल प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा उभिएका छन्। तर वैकल्पिक शक्ति एकीकृत भएर निर्वाचनमा जाने अवस्था बने प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै निर्वाचनमा कांग्रेस–एमालेबीच औपचारिक वा अघोषित तालमेल गर्न सकिने विषयमा प्रारम्भिक छलफल भएको बताइन्छ।
‘पहिलो प्राथमिकता प्रतिनिधिसभा पुनर्स्थापना नै हो,’ स्रोतले भन्यो, ‘तर २१ फागुनको निर्वाचन अपरिहार्य बने कांग्रेस–एमाले तालमेल गरेर जाने विकल्पबारे पनि कुरा अघि बढेको छ।’ गठबन्धन भए अघिल्ला निर्वाचनमा जितेका क्षेत्र आ–आफूले राख्ने र बाँकी क्षेत्रमा भागबण्डा गर्ने मोडालिटीमा छलफल भइरहेको जनाइएको छ।
२०७९ को निर्वाचनमा कांग्रेस र एमाले फरक–फरक गठबन्धनसहित चुनाव लडे पनि दुवै दलले मिलेर प्रतिनिधिसभामा १६७ सिट जितेका थिए। यही आधारमा वैकल्पिक शक्तिलाई बहुमत पुग्न नदिने रणनीतिमा नेतृत्व केन्द्रित देखिएको कांग्रेस नेताहरू बताउँछन्।
स्रोतका अनुसार ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनलाई तालमेलको अभ्यासका रूपमा प्रयोग गर्नेबारे देउवा र ओलीबीच समझदारी बन्ने संकेत पनि देखिएको छ।
तर कांग्रेसभित्र एमालेसँग गठबन्धन गर्न नहुने मत बलियो बन्दै गएको छ। महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइराला पक्षका नेताहरू अघिल्लो गठबन्धनबाट धोका पाएको अनुभव सुनाउँदै एक्लै चुनाव लड्नुपर्ने पक्षमा छन्। महाधिवेशन नगरी चुनावमा जानु थप जोखिमपूर्ण हुने उनीहरूको चेतावनी छ।
राजनीतिक वृत्तमा वैकल्पिक शक्तिको सम्भावित एकताले परम्परागत दलहरूलाई नयाँ रणनीति अपनाउन बाध्य बनाएको विश्लेषण भइरहेको छ। प्रतिनिधिसभा पुनर्स्थापना वा निर्वाचन कुन दिशातर्फ जान्छ भन्नेले आगामी दिनमा कांग्रेस–एमाले सहकार्यको रूप तय गर्ने देखिन्छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया