काठमाडौं । जेन–जी आन्दोलनका अगुवा तथा हामी नेपालका संस्थापक सुदन गुरुङले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको स्पष्ट पारेका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत उनले राष्ट्रको हित र जनताको चाहनालाई सर्वोपरि राखेर सम्पूर्ण वैकल्पिक राजनीतिक शक्तिलाई एउटै मंचमा ल्याउने उद्देश्यले एकीकरण अभियान चलाइरहेको जानकारी दिएका छन्। गुरुङले आफूहरू सत्ता, पद वा व्यक्तिगत प्रसिद्धिका लागि कहिल्यै लाग्दैनन् र भविष्यमा पनि नलाग्ने दाबी गरेका छन्।
उनले भनेका छन्, ‘जेन–जी शहिदहरूको त्यो चिसो खुट्टाको कसम ! राष्ट्रको हित र जनताको इच्छालाई सर्वोपरि राखेर सम्पूर्ण वैकल्पिक शक्तिलाई एउटै मंचमा ल्याउनका लागि चलाइरहेको अभियानमा हाम्रो कुनै पनि राजनीतिक दलमा संलग्नता छैन।’
साथै गुरुङले नयाँ राजनीतिक शक्तिहरूलाई पनि सचेत गराएका छन्, जसले नागरिकको बलिदानको आधारमा सत्ताको सपना देख्छन्। उनले स्पष्ट पारेका छन् कि जेन–जीको जनादेश, साहसी युवाहरूको नेतृत्व र शहीद तथा घाइतेको बलिदानलाई प्राथमिकता दिने शक्तिलाई मात्र स्वीकार गरिनेछ।
उनले भनेका छन्, ‘हाम्रो दाजुभाइ र दिदी–बहिनीको बलिदानको आधारमा सत्तामा पुग्ने सपना देख्ने सबै राजनीतिक शक्तिहरूलाई स्मरण रहोस् – जेन–जीको जनादेश, साहसी नेतृत्व र शहीद तथा घाइतेको बलिदानलाई प्राथमिकतामा राख्ने शक्तिलाई मात्र हामी स्वीकार गर्नेछौं।’
पछिल्लो समय गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह लगायतका नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूलाई एकीकृत गर्ने प्रयासमा जुटिरहेका छन्।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया