काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्वलाई समाप्त पारेर एकता सम्भव नभएको बताएका छन्। उनले नयाँ राजनीतिक शक्तिहरूले सबैको अस्तित्व स्वीकार गर्दै सम्मानका साथ एकताबद्ध हुनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र घिसिङबीच एकताका लागि सहमतिको तयारी भइरहेकै बेला उनले उक्त प्रतिक्रिया दिएका हुन्।

advertisement

शनिबार उज्यालो नेपाल पार्टी नुवाकोट–काठमाडौँ सम्पर्क मञ्चद्वारा बौद्धमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री घिसिङले भने, ‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन। सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुनेगरी अघि बढ्नु नै साँचो एकता हो।’

घिसिङले देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अघि बढ्नुपर्नेमा जोड दिँदै जनताको भावना अनुसार नयाँ शक्तिहरूले अहंकार त्यागेर साझा उद्देश्यका लागि एकताबद्ध हुनुपर्ने बताए।

उनले उज्यालो नेपाल पार्टीप्रति जनतामाझ विश्वास बढ्दै गएको उल्लेख गर्दै आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने अवसरका रूपमा लिन आग्रह गरे।

मन्त्री घिसिङले निर्वाचनमार्फत सही, इमानदार र जनउत्तरदायी नेतृत्व चयन गर्न सकिने भएकाले सबै नागरिक सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। साथै, उज्यालो नेपाल पार्टीले देशभर आफ्नो सङ्गठनात्मक संरचना विस्तार गर्दै गएको र सानो स्तरबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानको रूपमा विकसित भएको बताए।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com